मेचीनगर/ समय ३ बजेर १५ मिनेट । स्थान झापाको मेचिनगर नगरपालिकाको १४ नम्बर वडा कार्यालय ।  सेवाग्राही सेवाका लागि लाम लागेका छन् । तर, कर्मचारीको कुर्सी भने खाली छ । कार्यालयका अधिकांश कर्मचारी कुर्सीमा देखिदैनन् ।

कतिपय सेवाग्राही रित्तो हात फर्किदै गरेका भेटिए । कर्मचारीतन्त्रको गतिलो उदाहरण मेचीनगर–१४ मा देखियो । जनताको सेवाका लागि खटिएका जनप्रतिनिधिसमेत भेटिएनन् । वडाध्यक्ष शङ्करप्रसाद पोखरेल त्यसदिन बिदामा रहेको जानकारी कम्प्युटर अपरेटर वीपिन काफ्लेबाट जानकारी पाइयो ।

वडाध्यक्षकै कार्यकक्षको प्रशासन शाखाका कर्मचारीको कुर्सी पनि रित्तो थियो । शाखाका कर्मचारी मिरान्न आचार्य भेटिइनन् । त्यस्तै लेखा शाखाका कर्मचारी लेखापाल सुनिता सोरेन घरमा बच्चा बिरामी भएकाले बाहिर रहेको जानकारी पाइयो । अन्य कर्मचारी प्रकाश कार्की, भगवती खवास फिल्डमा भएको जानकारी पाइयो ।

कार्यालयको बेथितिबारे ब्लाष्टको निगरानीमा यसपटक मेचीनगर–१४ नम्बर वडा परेको थियो । ब्लाष्टकर्मी पुग्दा कार्यालय खाली–खाली थिए । कम्प्युटर अपरेटर काफ्ले र चौकीदार सर्चबहादुर निरौलाबाहेक अन्य भेटिएनन् ।

कार्यालयको महत्वपूर्ण जिम्मेवारीमा रहेका वडा सचिव जीवनाथ रेग्मी ३ बजे नै एक छाकी छ भन्दै कार्यालयबाट हिडेको कर्मचारीबाटै थाहा भयो । यसविषयमा सचिव रेग्मीसँग फोनमा वार्तालाप हुँदा उनले आफू फिल्ड हेर्न गएको दाबी गरे ।

कर्मचारीले भने घर गएको भन्दै आफूहरूसँग कुरा गरेको बताए । उनले फिल्डको कामले बाहिर रहेको भन्दै टारे । तपाईकै कर्मचारीले घरको कामले चाडै निस्किएको भन्ने प्रश्नमा सचिव रेग्मीले आफूबाट गल्ती भएको स्वीकार्दै फोनमार्फत् नै आगामी दिनमा सुधार्ने बताए ।

यस विषयमा थप जानकारी लिनका लागि वडाध्यक्षलाई सम्पर्क गर्दा उनको फोनमा सम्पर्क हुन सकेन । यसबारे मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्यसँग बुझ्ने प्रयास गर्दा उनले यसविष के भएसरकारीको रहेछ आफूले बुझ्ने बताए । उनले आफूले बुझेर जानकारी गराउने बताए ।