धरान । मेघा कलेज धरानका विद्यार्थीहरूको स्वागतमा शिक्षिकाहरूले कम्मर मर्काएका छन् ।

बीबीएस प्रथम वर्षका विद्यार्थीहरूको स्वागतमा कलेजकी शिक्षिका दीभा श्रेष्ठ, रती श्रेष्ठ, कर्मचारी प्रतिभा श्रेष्ठ र सुमिता केसीले शनिबार कम्मर मर्काएका हुन् । कलेजमा यो शैक्षिक सत्रमा २३ विद्यार्थीहरू भर्ना भएको कलेजका प्रमुख हेमन्त भण्डारीले जानकारी दिए । बीबीएस दोस्रो र तेस्रो वर्षका विद्यार्थीहरूले गरेको ‘स्वागत कार्यक्रम’ मा कलेजका छात्रछात्राले गीतसङ्गीतमार्फत् मनोरञ्जन गराए । त्यसक्रममा शिक्षक सञ्जीव उदासले पनि गीत गाएर मनोरञ्जन गराए ।

विद्यार्थी अनुम परियारले विटवक्समार्फत् सहभागी विद्यार्थी तथा नवआगन्तुक विद्यार्थीहरूलाई मनोरञ्जन गराएका थिए । विटवक्स पछिल्लो समय युवाहरूमाझ निकै लोकप्रिय रहेको छ । यसक्रममा सञ्चिता शङ्कर, अविना राईलगायतले गीत गाएका थिए भने अस्मिता लिम्बू, निशा राईलगायतले नृत्य प्रस्तुत गरे । नवआगन्तुक विद्यार्थी आर्दश गौतमले पनि गीत प्रस्तुत गरेका थिए ।

विद्यार्थीहरूले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागतार्थ गरिएको यस्ता खाल्का कार्यक्रमले असल संस्कार बसाएको कलेज व्यवस्थापन समितिका अध्यक्ष सूर्यकुमार अधिकारीले बताए । कार्यक्रममा ब्लाष्टका कार्यकारी सम्पादक भोजराज श्रेष्ठको प्रमुख उपस्थितिमा भएको कार्यक्रममा एम्स एकेडेमीका प्रबन्ध निर्देशक तथा प्याब्सन सुनसरीका उपाध्यक्ष अनुप योञ्जन तामाङलगायतको सहभागिता रहेको थियो ।