धरान / युरेका आवासायी माविको २५ औं रजत जयन्ति भव्यताका साथ सम्पन्न भएको छ । शैक्षिक यात्राको २५ बर्षगाठलाई विद्यालयले अविस्मरणीय बनाएको छ । एकसाताको कार्यक्रम आयोजना गरि वाकाथानसँग शुरू भएको रजत जयन्ति, रक्तदान, वृद्धवृद्धासँग भेट, पूर्व विद्यार्थीसँग भेट, शिक्षाविद्सँगको अन्तक्र्रियालगायत विविध सांस्कृतिक गतिविधि गरेको छ ।
शुक्रबार र शनिबार विभिध सांस्कृतिक कार्यक्रम भएका थिए । शनिबार पनि कक्षा–६ देखि १२ सम्मका विद्यार्थीका लागि प्रतिभा प्रदर्शन तथा सांस्कृतिक कार्यक्रम राखिएको थियो । विद्यार्थीले गीत, नृत्य साथै नाटकले भरपुर मनोरञ्जन दिए ।
निर्मला पन्त बलात्कार काण्डबारे विद्यार्थीले नाटक प्रस्तुत गरे । पन्तको हत्या भएको घटनालाई लक्षित गरेर नाटक पनि प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं १ का सभामुख प्रदीप भण्डारी रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सभामुख भण्डारीले युरेकाको प्रगतिप्रति आफू सन्तुष्ट रहेको बताए । ‘युरेका २५ औं वर्षमा छ, अझै ५० वर्षसम्म पनि यस्तै देख्न पाउँ’, उनले भने । प्रिन्सिपल राजेन्द्र गुरुङले २५ वर्षसम्म आइपुग्दा देशविदेशसम्म युरेकाको नाम रहनु नै सफलता भएको बताए । अध्यक्ष सुदीप यल्मोले परिश्रमका कारण नै युरेकाले सफलता पाएको बताएका थिए ।