धरान / साँगुरीगढी–८ सेम्बोपास्थित बालकल्याण प्राविका विद्यार्थीहरूलाई साेमबार शैक्षिक सामग्रीसहित जाडोको न्यानो कपडा वितरण गरिएको छ ।
गायक प्रकाश पौडेल र दुवईमा कार्यरत अन्य नेपालीहरूबाट सङ्कलित ५५ हजार रुपैयाँ बराबरको सामग्री प्रदान गरिएको हो । गायक पौडेलसहित जीवन भुषाल, निर्मल आचार्य, भट्टराई किङ, नेपाली सेर गोप (शङ्कर), भेडेटार होटल एसोसिएसनका अध्यक्ष जितेन्द्र रुम्दालीलगायतले गरेको सहयोग कक्षा ५ सम्मका विद्यार्थीहरूलाई प्रदान गरिएको लायन्स क्लब अफ धरान इष्टका अध्यक्ष राजीव दाहालले जानकारी दिए ।
विद्यार्थीहरूलाई ५४ थान टाउजर र ५४ थान स्वेटरसहित खेलकुद सामग्री प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि ब्लाष्ट दैनिकका उप–प्रबन्ध निर्देशक दीपेन्द्रकुमार कार्कीलगायतले विद्यार्थीहरूलाई सामग्री वितरण गरेका थिए । लायन्स क्लब अफ बुढानिलकण्ठका अखण्ड पोखरेलको पनि सहयोग रहेको थियो ।