दमक/ प्रधाध्यापकको नियुक्तीको विषयमा विवाद भएपछि झापाको दमकमा सञ्चालन भएको नमुना विद्यालय कार्यक्रम अन्योलमा परेको छ ।

विगत चार वर्ष सात महिना देखि प्रधानअध्यापकमा कार्यरत विष्णुकान्त झाको ठाउमा सोही विद्यालयका सहायक प्रधानअध्यापक ओमप्रसाद आचार्यलाई नयाँ नियुक्ती गरिएपछि विवाद चर्किएको हो ।

नमुना वि.द्यालयमा गुरुयोजना अनुसार मात्र कार्यक्रम सञ्चालन गर्न पाइने भएपछि यहा पुर्णकालिन प्रधानाध्यापक नियुक्ती गरिएको थियो । यसरी गरिएको नियुक्ती प्रकृयामा असन्तुष्टि जनाउदै निमित्त प्रधानाध्यापक बिष्णुकान्त झाले आफुमाथि अन्याय भएको भन्दै बिरोध जनाएपछि बिबाद भएको हो ।

स्थानीय तहमा एक/एक वटा नमुना बिद्यालय बनाउने सरकारले कार्ययोजना बनाएको छ । जस अन्र्तगत पहिलो चरणमा देशभरिका २ सय २२ वटा विद्यालयलाई नमुना विद्यालयका रुपमा घोषणा गरिएको छ ।

तर यसको कार्यान्वायनका लागि प्रधानाध्यापक नियक्तिमा राजनीतिक हाबी हुन थालेपछि विवाद सुरु भएको छ ।

झापाको दमक २ मा रहेको हिमालय माध्यमिक विद्यालय देशकै नमुना विद्यालय मध्येको एक विद्यालय हो । तर यो विद्यालयमा अहिले प्रधानाध्यापक नियूक्तीको विषयलाई लिएर राजनीतिक दबाव र प्रभाव सतहमा नै आएको छ ।

नमुना विद्यालय व्यवस्था विभाग शिक्षा तथा मानव विकास श्रोत केन्द्रले जारी गरेको निर्देशिका अनुसार नमुना विद्यालयमा पूर्णकालिन प्रधानाध्यापक नियूक्तीका लागि दमक नगरापलिका मार्फत गठन भएको विद्यालय व्यवस्थापन समितिले विज्ञापन आह्वान गर्यो ।

विज्ञानमा खुलाइएको योग्यता अनुसार विद्यालयमा ९ जना शिक्षक सो पदका लागि योग्य थिए । तर श्रेष्ठताको आधारमा तत्कालिन प्रअ झा र सहायक प्रअ आचार्य आन्तरिक प्रतिस्पर्धामा सहभागि भए ।

सहभागि मध्ये उत्कृष्ठ ठहरिएका आचार्यलाई नियूक्ती गरियो । पूर्णकालिन प्रधानाध्यापक छनौट समितिका सदस्य तथा नगरपालिकाको शिक्षा साखाका प्रमुख शालिग्राम काफ्लेका अनुसार विद्यालय विकास प्रस्तावका आधारमा आचार्य छनौट भएका हुन ।

तर छनौट समितिले प्रअ नियूक्तीमा उत्कृष्टतालाई आधार नबनाई राजनीतिक आस्थाका आधारमा आचार्यलाई नियूक्ती गरिएको झाको आरोप छ ।

प्रधानाध्यापकको नियूक्तीको बिषयमा शिक्षक संघमा आवद्ध भएको आधारमा पूर्वाग्रह सहित प्रतिसोध राखिएको झाको भनाई छ । ‘आफैले तयार गरेको बिद्यालय बिकास प्रस्तावनाको आधारमा विद्यालय नमुना विद्यालयमा पर्न सफल भएको छ । तर म योजना तयार गर्ने शिक्षक चाँही अहिले अयोग्य बनाइएको छ । ’ झाले बताए ।

प्रअ नियूक्तीमा राजनीतिक आस्थाका आधारम विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक परिवर्तन गरेको भन्दै नेपाली काँग्रेस दमक नगर समितिले प्रेस बिज्ञप्ति नै जारी गरेको छ ।

मंगलबार उक्त कार्यको बिरोध गर्दै नेपाल विद्यार्थी संघले प्रअको कार्यकक्षमा ताला लगाउन पुगेको थियो । बिद्यालयमा अध्यनरत विद्यार्थीले ताला लगाउन नदिएपछि नेविसघंका विद्यार्थी ताला नलगाई फिर्ता भएका थिए ।

विद्यालयका नवनियूक्त प्रधानाध्यापकले आफू नियमसङ्गत नियूक्ती भएको दाबी गरेका छन् ।  यता नवनियुत्त प्रधानाध्यापक आचार्यलाई नेकपाको समर्थनमा नियुक्ती गरिएको भन्दै झाको समर्थनमा आन्दोलन गर्ने चेतावनी दिएपछि मंगलबार विद्यालयमा अध्यान प्रभावित भएको छ ।

नगरमा देखिएको शिक्षाको विवाद मिलाउने संवैधानिक अधिकार स्थानीय सरकारलाई छ । दमक नगरले नगरको शिक्षा क्षेत्रमा काम गर्न सहज होस भन्नका लागि नगर शिक्षा ऐन जारि समेत गरेको थियो । तर यसको कार्यान्वायन भने हुन नपाउँदै बिरोध सहित उच्च अदालतमा मुद्धा समेत परेको छ ।

नमुना विद्यालयमा प्रधानाध्यापक नियूक्तिमा नगर शिक्षा ऐन प्रयोग नगरिएको नगरपालिकाकी उप प्रमुख तथा नगर शिक्षा समितीकी संयोजक गीता अधिकारीको भनाई छ । 

हरेक स्थानीयत तहमा रहेका विद्यालय मध्ये एउटा विद्यालयलाई नमुना विद्यालय बनाउने र नमुना विद्यालयमा परेका विद्यालयको १ करोड ५० लाख रुपैँया रकम संघिय सरकारले प्रदान गर्ने कार्यक्रम सार्वजनिक भएको छ ।

झापामा पहिलो चरणमा ८ स्थानीय तहका ८ वटा विद्यालय नमुना विद्यालयका रुपमा छनौट भएका छन् । यसरी एउटा शैक्षिक सस्थामा गरिएको नियुक्तीको विषयमा भएको विवादले नमुना विद्यालयको कार्यक्रम नै बन्द हुने हो की भन्ने त्रासमा अभिभावक छन् ।