धरान /प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले शिक्षालाई प्रविधिमै्त्री बनाउने योजना प्रदेश सरकारले अघि सारेको बताएका छन् । मन्त्री घिमिरेले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन प्रदेश सरकारले शिक्षा ऐनमा समावेश गरेर प्रविधिमैत्री शिक्षामा जोड दिन लागेको बताएका छन् ।

धरान ८ मा रहेको सहीद स्मृति माविको ६२ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको समुद्घाटन गर्न धरान आउनु भएका मन्त्री घिमिरेले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरलाई सुधार्न सामुायिक विद्यालयलाई पनि प्रविधिमैत्री बनाउने योजना प्रदेश सरकारको रहेको बताए ।

उनले गैर सरकाकारी संस्था ई–क्वालिटी फाउण्डेसनसँगको सहकार्यमा सरकारले पहिलो चरणमा एक सय विद्यालयबाट ‘ई–एजुकेशन’ सुरुवात गर्ने सम्झौता भएको बताउदै अब सामुदायिक विद्यालयमा कम्प्युर शिक्षा अनिवार्य बनाउन प्रदेश सरकार अगाडि बढेको स्पष्ट पारे ।

उनले भने –यसका लागि सामुदायि विद्यालयमा अनिवार्य रुपमा कम्प्यूटल ल्याव सञ्चालन गर्ने र प्राविधिक शिक्षक र दक्ष शिक्षक तयार पार्ने प्रदेशको योजना रहेको बताए ।

उनले नीजि विद्यालयको जस्तै गुणस्तरीय शिक्षाका लागि सामुदायिक विद्यालयमा कक्षा १ देखि नै अंग्रेजी शिक्षा पढाइ शुरु भइसकेको बताउदै सामुदायिक विद्यालयमा अब प्रदेश सरकारले यसमा अझ जोड दिएर लाने बताए ।

उनले नीजि विद्यालयको तुलनामा सामुदायिक विद्यालयका विद्यार्थीहरुमा अग्रेजी भाषामा कमजोर हुने भएको बताए । यसलाई मध्यनजर गरी अब प्रदेश सरकारले नीजि विद्यालय सरह सामुदायिक विद्यालयमा अंग्रेजी विषयलाई प्राथमिकता दिई विद्यार्थीको आकर्षण बढाउने योजना अगाडि ल्याउन लागेको समेत स्पष्ट पारे ।

सामुदायिक विद्यालयको विकासको लागि विद्यालयमा ‘आमा समूह’ गठन गरेर विद्यालयको अंगको रुपमा विकास गरिने बताए । यसैगरी, विभिन्न समाजसेवीहरुको सहभागी गराइ ‘विद्यालय सहयोग समूह’ संयन्त्र गठन गर्ने, विद्यालय–विद्यालयबीच सिकाइ आदानप्रदान गर्नको लागि विद्यालय मितेरी कार्यक्रमलाई प्रदेश सरकारले अगाडि बढाउने बताए ।