धरान । लिग लिडर मनाङ मस्र्याङ्ग्दी क्लब आइतबार दोस्रो मदन भण्डारी स्मृति इटहरी गोल्डकपमा आयोजकसँग स्पर्धा गर्दै छ ।
यो खेललाई आयोजक राष्ट्रिय जागृति क्लब इटहरीले विशेष रूपमा हेरेको छ । सर्वाधिक राशिमा देशभरको दोस्रो गोल्डकपका रूपमा रहेकाले पनि इटहरी गोल्डकपको गरिमा उक्लिएको छ । इटहरी रङ्गशालामा जारी प्रतियोगिताको आइतबारे दोस्रो क्वार्टरफाइनल खेलमा झण्डै आधा दर्जन बढी राष्ट्रिय खेलाडी सम्मिलित मनाङ सामु आयोजकका लागि ढुङ्गा चपाउनु जतिकै हुने छ ।
तर, पनि घरेलु समर्थकको साथ पाएर आयोजकले केही अब्बल गर्ने आयोजकको दाबी छ । अघिल्लो गोल्डकपमा आयोजकबाटै खेल प्रदर्शन गरेका प्रवेश दनुवार यसपटक मनाङबाट स्पर्धा गर्दै छन् । जसले आयोजकका खेलाडीहरूको स्तर मात्रै हैन, खेल कौशलबारे पनि जानकार छन् । आयोजकका लागि प्रवेश नै चुनौती बन्ने सम्भावना बढी छ । त्यसका अलवा पनि राष्ट्रिय कप्तानी सम्हालिसेका रक्षापंक्तिका विराज महर्जनलगायतका खेलाडीहरू मनाङमा छन् ।
मनाङमा यसपटक हेमन गुरूङ, विशाल राई बी, अञ्जन विष्ट, कमल श्रेष्ठ, सुजन श्रेष्ठ, गोलरक्षकका रूपमा अनुभवी विशाल श्रेष्ठ छन् । यसकारण पनि आयोजकका लागि चुनौती बन्न सक्ने सम्भावना छ । अनुभवी खेलाडीहरू रहेको मनाङले खप्तड गोल्डकपमा भनेजस्तो प्रदर्शन गर्न सकेन । जसका कारण ऊ पहिलो खेलबाटै बाहिरिन पुगेको थियो । त्यस कारण पनि यो खेल मनाङका लागि विशेष मानिएको छ ।

आयोजकसँग स्थायी खेलाडीहरूको अभाव छ । सङ्कलन गरिएका खेलाडीहरूबाट नै आयोजकले स्पर्धा गर्दै छ । थ्री स्टारबाट व्यवसायिक खेल खेलिरहेका विष्णु सुनुवार, फ्रेण्डसबाट व्यवसायिक खेल खेल्दै आएका समिर राई, जावलाखेलका दीपेन तामाङलगायतका खेलाडीहरू मैदानमा उर्तादै छ ।