धरान/ धरान–१६ स्थित भगवती आधारभूत विद्यालयले ६५ औं वार्षिकोत्सव शुक्रबार सम्पन्न गरेको छ ।  वार्षिकोत्सवको अवसरमा स्कुलले विद्यालयका १ सय १० जना विद्यार्थीहरूलाई पोशाक वितरण गरेको छ ।

जेयस ग्रुप मारवाडी महिला र शिक्षक जितमाया लिम्बू, विष्णुकुमार लिम्बू, मनिका खनाल, विकेश यादवको अक्षयकोषबाट गरी कुल एक सय १० जनालाई पोशाक वितरण गरिएको हो । जेयसले ७५ जनालाई पोशाक वितरण गरेको हो भने शिक्षकहरूको अक्षयकोषबाट ३५ जना विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको स्कुलका शिक्षक अच्युत पराजुलीले जानकारी दिए ।

त्यस्तै स्कुलका कक्षागत उत्कृष्ठ विद्यार्थीहरूलाई पनि पुरस्कृत गरिएको थियो । २०७४ सालको वार्षिक परीक्षामा कक्षागत रूपमा पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीहरूलाई ५ सय, ३ सय ५० र २ सय ५० रुपैयाँ नगद प्रदान गरिएको छ ।

आशा सुब्बाको अक्षयकोषबाट उत्कृष्ठ विद्यार्थीहरूलाई नगद प्रदान गरिएको हो । साथै, विद्यालयमा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरूलाई समृति देवान छात्रवृति कोषको व्याजबाट ३ हजार ५ सय, २ हजार ५ सय र १ हजार ४ सय रुपैयाँ प्रदान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्त सिटौलाले जानकारी दिए ।

त्यसक्रममा हरिकला सिटौला, दिलबहादुर थापा, अक्षयकोषदाता पदमबहादुर श्रेष्ठ, सुशिला श्रेष्ठ, ईश्वरथापा, राजकुमार निरौला, जेयस ग्रुप, रत्न राईलाई सम्मानित गरिएको छ ।

स्कुलका शिक्षक अच्युत पराजुलीलाई वर्षको सर्वोत्कृष्ठ शिक्षकबाट सम्मानित गरिएको थियो । उनीहरूलाई १६ नम्बर वडाध्यक्ष दिलकुमार गिरी, विव्यासका अध्यक्ष वसन्त सिटौलालगायतले पुरस्कार तथा सम्मान पत्र हस्तान्तरण गरेका थिए ।