बिर्तामोड/ झापाको दक्षिणी भु-भाग बर्षेनी डुबानको चपेटामा पर्ने गरेको छ । डुबानका कारण लाखौंको धनमाल नष्ट हुनुका साथै धेरै नागरिक बिस्थापित हुने गरेका छन् । बलिया बाङ्गा त डुबानबाट बच्न सुरक्षित गन्तब्यमा जान सक्छन नै त्यसबेला कमजोर र सहारा बिहिन मानिसको बिचल्ली हुने गरेको छ ।

पटक-पटक बिचल्लीमा परेका यस्तै शारिरिक रुपमा असक्त आमा छोराका लागि झापाली युवाको सक्रियतामा स्थायी घर निर्माण हुने भएको छ । झापाको बिर्तामोड नगरपालिका ९ का ८० वर्षिय सुकसरी राजबंशी र उनका छोरा ५० बर्षका डोलो राजबंशीका लागि स्थानीय युवाको पहलमा घर निर्माण हुने भएको हो ।

सुकसरी सुस्त मनस्थितीकी छन् । डोलो आँखा मात्र देख्छन् । अपाङग उनी बोल्न, सुन्न र हिड्न समेत सक्दैनन् । आफन्त कोही नभएका उनीहरु भए खाने नभए भोकै बस्ने गरेका छन् । स्थानीय प्रकाश बुढाथोकीको सक्रियतामा आमा छोराका लागि स्थायी घर निर्माण हुने भएको हो ।

घरका साथै जिविकोपार्जनको स्थायी श्रोत निर्माण गर्न स्थानीय युवाको सक्रियता रहेको छ । मनसुनको समयमा बिजोक देखेका बुढाथोकिले राजबंशीका लागि घर बनाउने संकल्प पुरा गर्न लागेकोमा खुशी लागेको बताएका छन् ।

अर्काको जमिनमा सानो एक कोठे छाप्रोमा बस्दै आएका सहारा बिहिन राजबंशी परिवारका लागि सहारा बन्न आएका सोही ठाँउका बुढाथोकिले ११ हजार रुपैयाँ जम्मा गरेर घर बनाउन शुरु गरेका थिए । उनको अभियानमा साथ दिन यतिबेला बिभिन्न स्थानमा रहेका समाजसेवीको उपस्थिती हुन थालेको बताएका छन् ।

राजबंशी बस्दै आएको जमिन स्थानीय किरण राजबंशीको हो । राजबंशीले सुकसरी र डोलोका लागि घर बनाउने शर्तमा चाहिएजति जमिन दिन राजी भए । उनी राजी भएपछि घर निर्माण कार्य शुरु गर्न हौसला मिलेको बुढाथोकिले बताए । ‘साथी भाई हार गुहार गरें, सबैतिरबाट सकारात्मक प्रतिक्रिया दिएपछि मैले घर बनाउन आँट गरेको हो ।’

बुढाथोकिको योजनामा स्थानीय युवाले हातमा हात मिलाइपछि अहिले घरमा जस्तापाता लगाउने समय भएको छ । घर फिनिसिङको काम चल्दै गर्दा सहयोगि हात पनि बढिरहेको सञ्चारकर्मी समेत रहेका स्थानीय सरोज पौडेलले बताए । लगभग १० धुर जमिनमा तीन कोठाको घर निर्माण गर्न ३ लाख ५० हजार रुपैंयाँ लाग्न सक्ने निर्माणकर्ताको भनाई छ ।

माघ २५ गते घर हस्तान्तरणको कार्यक्रम राखिएको निर्माणकर्ताले जनाएका छन् । उनीहरुको स्थायी जिविकाको लागि केही रकम संकलन गरेर अक्षयकोष राख्ने र त्यसको ब्याजले जिविकोपार्जनका लागि सहयोग गर्ने तयारी स्थानीयको रहेको जनाइएको छ ।

अहिलेसम्म चिरञ्जिीवि कार्की, पवन न्यौपाने, राजकुमार थापा, कुवेर श्रेष्ठ, मदन बुढाथोकी, नविन शिवाकोटी, किशोर पौडेल, भुपाल बुढाथोकी, ठगबहादुर खड्का लगायतले ‘डोले निवास’ निर्माणमा सहयोग गरेको जनाइएको छ ।