काठमाडौं/ सरकारले करिब तीन हजार सुरक्षाकर्मीलाई सहीद घोषणा गरेको छ ।  विभिन्न आन्दोलन, सशस्त्र द्वन्द्व तथा मधेश आन्दोलनको क्रमम ज्यान गुमाएका सुरक्षाकर्मीलाई सहीद घोषणा गर्ने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले सहीद घोषणा गर्ने निर्णय गरेको छ ।

सरकारले संक्रमणकालीन न्यायका लागि गठित आयोगहरुको म्याद थप्न विलम्ब गरिरहेका बेला विभिन्न समयमा ज्यान गुमाएका सुरक्षाकर्मीहरुलाई सहिद घोषणा गरेको हो । नेपाली सेनाका १०१८, नेपाल प्रहरीका १४४८, सशस्त्र प्रहरी बलका ३१८ र अनुसन्धान विभागका २३ जना गरी २८०७ जनालाई सरकारले सहिद घोषणा गरिएको छ ।

उता सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद थप नगरी उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने पहल सरकारले गरे पनि अन्तर्राष्ट्रिय निकाय तथा द्वन्द्वपीडित पक्षहरुको दबाबमा अहिले यी आयोगहरुको म्याद एक वर्ष थप्ने गरी राष्ट्रिय सभामा विधेयक अघि बढाइएको छ।