धरान । २१ औं आमन्त्रण बुढासुब्बा गोल्डकपको प्रवद्र्धन कपमा नेपाल पत्रकार महासङ्घ सुनसरीको टिम उपाधि नजिक पुगेको छ ।

एन्फा एकेडेमीको खेल मैदानमा बुधबारको खेलमा महासङ्घको टिमले एरिया कोअर्डिनेट कमिटी (एसीसी) लाई ६–० गोल अन्तरले पराजित गर्दै फाइलनमा पुगेको हो । जितका लागि महासङ्घबाट धिरेन लिम्बूले ह्याट्रिक गर्दा सनम लिम्बूले दुई र दिलिप लिम्बूले एक गोल गरेका थिए ।

पहिलो हाफमा सनम लिम्बूले खाता खोले । दोस्रो हाफमा महासङ्घको टिमले दबावमा राख्दै गोलको वर्षा गरे । खेलको म्यान अफ दी म्याच महासङ्घका धिरेन लिम्बू घोषित हुँदै नगद ५ सय रुपैयाँसहित मेडल प्राप्त गरे । महासङ्घको टिम आयोजक धरान फुटबल क्लब र धरान उपमहानगरपालिकाको टिमको विजेतासँग उपाधिका लागि भिडन्त गर्ने छ । आयोजक र धरान उपमहानगरबीच बिहीबार खेल हुँदै छ ।

माघ १२ गतेदेखि जारी प्रतियोगितामा ८ वटा टिम सहभागी भएका थिए । फाइलन माघ १९ गते हुँदै छ । विजेताले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ भने उपविजेताले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ ।

त्यस्तै व्यक्तिगत ट्रफी र नगद पनि प्रदान गरिने भएको छ । बुढासुब्बा आउँदो माघ २६ गतेदेखि शुरु हुँदै छ ।