भद्रपुर/ झापाको भद्रपुर नगरपालिका अन्तर्गत रहेको ४ नम्बर वडा कार्यालयले जग्गादातालाई अभिनन्दन तथा विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
वडा कार्यालयले शुक्रबार आयोजना गरेको जग्गादाता अभिनन्दन तथा पुरस्कार वितरण कार्यक्रममा वडा कार्यालयलाई साढे नौ कट्ठा जग्गादान गर्ने भद्रपुर–४ का जग्गादाता स्वर्गीय गोपालचन्द्रसिंह राजवंशीका सन्तति, पूर्व गाविस अध्यक्ष, उपाध्यक्षलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बाल कक्षामा अध्ययनरत जनकल्याणका २७, पशुपतिका २० र महेश्पुरका ११ जना सामुदायिक विद्यालयका विद्यार्थीलाई झोला र सोही विद्यालयमा अध्ययनरत अन्य ३ सय ३८ जना विद्यार्थीहरुलाई डटपेन र कापी वितरण गरेको थियो ।
त्यसैगरी वडामा रहेका दशओटा टोल विकास संस्थामार्फत् वितरण हुने गरी दुईसय जना गरिब तथा विपन्न वर्गलाई कम्बल वितरण गरेको थियो ।
वडा अध्यक्ष हंशधर राजवंशीको सभापतित्व तथा नगरप्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नरेश सञ्जेल, गणेशबहादुर बस्नेत, ३ र ७ का वडा अध्यक्ष क्रमशः कमला थुलुङ र विनोदकुमार पोखरेल, ज्ञानबहादुर पौडेल, उपमेयर चन्द्रमाया श्रेष्ठले बोलेका थिए ।