दमक/ सातै प्रदेशमा सात कलाकारसहित ग्रिस्मा ब्रोडकास्टिङद्वारा आयोजित ‘सप्तरङ्ग सात प्रदेश सात हामी’ साङ्गीतिक कार्यक्रममा दमकबासी झुमेका छन् ।
दमकस्थित दमक बहुमुखी क्याम्पस परिषरमा भएको कार्यक्रमको उद्घाटनपछि नै साङ्गीतिक माहौल तातिएको थियो । कार्यक्रमको प्रमुख अतिथि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यस प्रकारको साङ्गीतिक कार्यक्रमले देश र देशबासीबीचको एकतालाई जोड्ने बताए ।
उनले बोलिसक्ने बित्तिकै स्टेज चढेकी नायिका तथा नृत्याङ्गना अञ्जली अधिकारीले विभिन्न गीतमा नृत्य गरिन् । सञ्चारकर्मी तथा कलाकार सन्दीप क्षेत्रीको प्रस्तुतिमा दर्शकले पेट मिचिमिची हासेका थिए ।
प्रस्तुति दिनेक्रममा उनले मुख्यमन्त्रीतर्फ इङ्गित गर्दै ‘यो प्रदेशको विकास न हुने त कुरै भएन किन यहाँ त शेर नै मुख्यमन्त्री छ त्यो पनि धनसहितको शेर भएपछि विकास हुँदैन त ?’ त्यो सुनेर मुख्यमन्त्री पनि मुस्काएका थिए । कार्यक्रममा पूर्व तेक्वान्दो खेलाडी दिपक विष्टलाई सम्मानित गरियो ।

कार्यक्रममा ‘मलाई अमेरिका यहीँ मलाई, मलाई अष्ट्रेलिया यहीँ’ का गायक पशुपती शर्मा अधिकारीले गीत गाउन थालेपछि झापाली दर्शक कम्मर मर्काई–मर्काई नाचेका थिए ।
गायक रामकृष्ण ढकालको प्रस्तुतिमा दर्शकले स्टेज चढ्नुअघि नै तालीले स्वागत गरे । ‘बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्’ लगायतका दर्जन गीत प्रस्तुत गरे । गायिका इन्दिरा जोशीको गीतमा त झनै दर्शकहरू उफ्रिएका थिए ।
उनको प्रस्तुतिमा झापाली दर्शक आनन्द मान्दै नाचे । झापाका शान गायक प्रमोद खरेल स्टेज चढ्ने बित्तिकै दर्शकहरू आफ्नो भुँइ छोडेर उफ्रिए ।