जिरोपोइन्ट/ फक्ताङ्लुङ मिडिया हाउसले पहिलो ‘एसईई स्टेट–१ आइडल’ नामक गायन प्रतियोगिता गर्ने भएको छ । एसईई दिएर बसेका विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको मिडिया हाउसका अध्यक्ष डम्बरकुमार तुम्बापोले बताए । आइतबार पत्रकार सम्मेलन गर्दै प्रदेश १ को १४ वटै जिल्लामा अडिसन लिइने उनले बताए ।
अडिसनको प्रारम्भ चैतको तेस्रो साता ओखलढुङ्गा जिल्लाबाट हुने उनले बताए । प्रतियोगिताको अन्तिम अडिसन धरानमा हुने छ । प्रतियोगिता विजेताले नगद ५० हजार रुपैयाँसहित विभिन्न उपहार प्राप्त गर्ने छ भने एउटा गीत रेकर्ड गर्ने अवसर प्रदान गरिने भएको छ । त्यस्तै युएन कलेजमा प्लस टुमा पूर्ण छात्रवृति प्रदान गरिने छ ।
फस्ट रनरअपले नगद ३० हजारसहित युएन कलेजमा ५० प्रतिशत छुटमा पढ्न पाउने छन् भने सेकेण्ड रनरअपले नगद २० हजार रुपैयाँसहित कलेजमा ३० प्रतिशत छुटमा पढ्ने अवसर प्राप्त गर्ने उनले बताए । त्यस्तै विभिन्न १० वटा टाइटलमा अवार्ड वितरण गरिने छ ।
प्रतियोगीले अडिसनमा सहभागी बन्नका लागि ३ सय रुपैयाँ शुल्क बुझाउनु पर्ने प्रावधान राखेको छ । छनौटपछि सम्पूर्ण सुविधा प्राप्त गर्ने जनाइएको छ ।