इनरुवा / गैरकानूनी रूपमा प्राविधिक शिक्षा सञ्चालन गरेको आरोपमा पक्राउ परेका एलेन कलेज अफ इञ्जिनियरिङ प्रालिका अध्यक्ष अस्वस्थ भएपछि प्रहरीले उपचारका लागि छाडिएको छ ।
सञ्चालक विनोद शर्मालाई म्याद थप गरी नियन्त्रणमा राखेको सुनसरी प्रहरीले अध्यक्ष मेहताका सवालमा भने स्वास्थ्यमा खराबीका कारण निगरानीमा रहने गरी परिवारलाई जिम्मा लगाइएको छ । सुनसरीका डिएसपी ज्ञानेन्द्र फुयाँलका अनुसार उपचारको क्रममा रहेको र मुटुसम्बन्धी समस्या पाइएकाले मेहतालाई प्रहरी निगरानीमा रहने गरी परिवारको जिम्मा लगाइएको हो ।
उपचारसँगै स्वास्थ्यमा सुधार भएपछि मेहतालाई जिल्ला प्रहरी कार्यालयमा झिकाई नियन्त्रणमा लिएर कानूनी कारवाही अघि बढाइने फुयाँलले जनाए । प्रहरीले सञ्चालक शर्मा उपर भने ठगी मुद्दामा मङ्गलबार नै जिल्ला अदालत सुनसरीबाट ६ दिने म्याद थप गरी अनुसन्धानका लागि नियन्त्रणमा राखेको छ ।
यसैबीच प्रहरीमा परेको अभिभावक र विद्यार्थीको उजुरीका आधारमा सुनसरी प्रहरीले एलेन कलेज उपर स्थलगत अनुसन्धान थालेको छ । कलेजले सिटिइभिटीबाट सम्बन्धन नलिई विद्यार्थी भर्ना गरी मनोमानी शुल्क लिएर आफू खुशी कम्प्युटर सिस्टम एडमिनिस्टर एण्ड डेभलपमेन्ट १३ सय २० घण्टाको कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।