धरान । खप्तड उपाधि विजेता नेपाल पुलिस क्लब २१ औं आमन्त्रण रेडबुल बुढासुब्बा गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ ।

धरान रंगशालामा सोमबारको खेलमा पुलिसले साहारा क्लब पोखरालाई सडन डेथमा ४–३ गोलले हराएको हो । निर्धारित ९० मिनेटसम्म १–१ को बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा गएको थियो ।

टाइब्रेकरमा ३–३ को बराबरी भएपछि सडन डेथबाट नतिजा पुलिसको पक्षमा गएको हो । पुलिसले खेलको ३३ औं मिनेटमा निरकुमार राईले गोल गर्दै अग्रता कायम गरे । दोस्रो हाफको ३९ औं मिनेटमा साहाराले पेनाल्टीमार्फत् बराबरी गर्ने अवसर पायो । पेनाल्टीमा साहाराका विश्व अधिकारी चुकेनन् ।

खेलको म्यान अफ दी म्याच पनि पुलिसका निरकुमार राई घोषित हुँदै नगद १५ हजार रुपैयाँसहित ट्रफी पाए । भोलीको खेल आयोजक धरान फुटबल क्लब र पाहुँना टोली भारत कोलकत्ताको दलहाउसे एथ्लेटिक क्लबबीच हुँदै छ ।