यासोक/ बस्तीको बीचमा एउटा सानो घर छ । घरअगाडि आँगनमा राखिएको ह्वीचेयरमा बसेर ईश्वर टोलाइरहेका देखिन्छन् । 
 
उनका छेउछाउ दुई नाबालक छोराहरू फोहोरमा घिस्रिँदै खेलिरहेका छन् । शारीरिकरूपमा अपाङ्ग उनलाई स्याहार–सुसार श्रीमती राधिकाले गर्दै आएकी छन् । परिवारको सुन्दर भविष्यको सपना बोकेर भारतको कोइलाखातमा पुगेका कुम्मायक–५ का ईश्वर चेम्जोङ ५ वर्षपछि जिउँदो लाश बनेर फर्किए । कोइलाखानीभित्र काम गर्ने क्रममा अचानक उनीमाथि ढुङ्गा झरेर मेरुदण्ढ भाँचियो । परिवारको सुन्दर भविष्य बोकेर धन कमाउन त्यहाँ पुगेका उनको सपना अधुरो भएको छ । छोराहरूलाई राम्रो शिक्षादीक्षा दिने सपना बोकेका चेम्जोङ अहिले अरुको सहारामा जीवन बिताउन बाध्य छन् । 
 
आर्थिक अवस्था कमजोर भएका चेम्जोङको उपचारको लागि देश–विदेशबाट २ लाख ३ सय ६५ रुपैयाँ रकम सङ्कलन भएको थियो । रकम अपुग भएका कारण उनको थप उपचार हुन नसक्दा परिवार गम्भीर सङ्कटमा परेको छ । श्रीमान् र दुई नाबालक छोराहरूको हेरचाह गर्दा बिहान–बेलुकाको छाक टार्न मुस्किल पर्ने गरेको श्रीमती राधिका राईले सुनाइन् । ‘श्रीमान्को उपचारको लागि पैसा नहुँदा शरीरको आधा भाग चल्दैन । चोट लागेको ठाउँबाट घाउ बढ्दै गएको छ । स्याहार–सुसारदेखि सुताउने–उठाउने गर्नुपर्छ’ –चिन्तित हुँदै उनले भनिन् । बिहान बेलुकाको छाक टार्न धौ–धौ पर्ने चेम्जोङ परिवारलाई समुदायले बिहान बेलुका खाने अन्न र बस्ने घर निर्माण गरिदिएका छन् । स्थानीय ४५ घरधुरीले ९० हजार बराबरको जनश्रमदान गरी घर निर्माण गरेका छन् ।
 
त्यस्तै कुम्मायक–५ को कार्यालयले उनलाई ३५ हजारको निःशुल्क जस्तापाता प्रदान गरेको वडाअध्यक्ष यामबहादुर बोहोराले बताए । उनको थप उपचारको लागि वडा र गाउँपालिकाबाट हुनसक्ने सहयोग जुुटाउन पहल गर्ने उनले बताए । ‘परिवारको दयनीय अवस्था देख्दा दुःख लाग्छ’ स्थानीय नरेन्द्र चौहानले भने, ‘खाने अन्न र लाउने लुगाको अभाव हँुदा समुदायबाटै हेरचाह भइरहेको छ । तर त्यो पर्याप्त नहुँदा परिवारको बिचल्ली भएको छ ।’
 
परिवारले सबैसँग सहयोगको याचना गर्दै आएको छ । स्थानीय सृजनहाङ साँस्कृतिक क्लबले पीडितको रेखदेख गर्दै आएको छ । चेम्जोङको उपचारको लागि २ लाख ३ हजार १५ सय रुपैयाँ सङ्कलन भएकोमा १ लाख १० हजार ३ सय १५ रुपैयाँ खर्च भएको थियो । चेम्जोङको उपचारको लागि लाखौं आवश्यक भए पनि रकम अभावमा परिवार सङ्कटमा परेको क्लबका अध्यक्ष बिबी चेम्जोङले बताए । उनको उपचारको लागि पुनः चन्दा सङ्कलन गर्ने भन्दै उनले पीडित परिवारको सहयोगका लागि आग्रह गरे ।