इटहरी/ सुन्दर–हरैंचाकी उपमेयर घना तामाङले मातहतका सरकारी विद्यालयका प्रध्यानध्यापकलाई विद्यालयहरूमा सरकारी मापदण्ड लागू गर्न निर्देशन दिएकी छन् ।
विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै अनुशासित बनाउन उनको निर्देशन थियो । किताब परियोजना तथा डिजिटल किताब बजार सम्बन्धी प्रधानाध्यापकहरूसँग एक दिने अभिमुखीकरण कार्यक्रममा बोल्दै सरकारी विद्यालयको पठन– पाठन खस्कँदो क्रममा रहेको बताउँदै उपमेयर तामाङले पुस्तक कुना अनिवार्य राख्नु पर्ने बताइन् । विद्यालयको कक्षा कोठामा पुस्तक कुना राख्ने सरकारी नियम भए पनि लागू नभएको भन्दै यसलाई प्राथामिकताका साथ लागू गर्न उनको निर्देशन थियो ।
वल्र्डभिजन इन्टरनेशनल नेपालले सेभ द अर्थ सुनसरी र राष्ट्रिय सामुदायिक विकास केन्द्र, मोरङको साझेदारीमा गरेको कार्यक्रममा सम्पूर्ण सामुदायिक विद्यालयहरूमा पुस्तक कुना निर्माण कसरी गर्ने भन्ने विषयक छलफल कार्यक्रममा बोल्दै उपमेयरले सो कुरा बताएकी हुन् । शिक्षाको गुणस्तर वृद्धिका हिसाबले सबै विद्यालयमा शिक्षण सिकाइलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन उनको आग्रह थियो ।
कार्यक्रममा बोल्दै सुकुना माध्यमिक विद्यालयका प्रअ लक्ष्मी श्रेष्ठले विद्यालयमा अनिवार्य पुस्तक कुना निर्माण गर्ने बताए । विद्यालयहरूमा प्राथामिकताका साथ पुस्तक कुना निर्माण गर्नुको विकल्प नरहेको उनी बताउँछन् । त्यस्तै साजिलाल उच्च माविका प्रअ कल्याण सिटौलाले विद्यालयहरूमा सरकारी मापदण्डअनुसारको पुस्तक कुना निर्माण नभएको बेला सङ्घ–संस्थाहरूले गरेको अभियान राम्रो रहेको बताए ।
पुस्तक कुना निर्माणमा विद्यालयको समेत चासो र पहल हुुनुपर्ने वल्र्ड भिजनका परियोजना व्यवस्थापक राजकुमार दुलालले बताए । विद्यालयहरूले औसत ५५ पुस्तकहरू अनलाइन डिजिटल प्लाटफर्म प्रयोग गरी किन्नु पर्नेछ र पुस्तक राख्ने बन्दोबस्तसमेत विद्यालय आफैंले गर्नु पर्नेछ । यसैबीच अनलाइन डिजिटल प्लाटफर्म निर्माण गरी प्रकाशक र स्कुलहरू बीच डाइरेक्ट सम्बन्ध निर्माण गर्ने परिकल्पना परियोजनाले गरेको छ ।
राष्ट्रिय सामुदायिक विकास केन्द्र मोरङकी संयोजक शोभा बजगाईंले सरकारी विद्यालयहरूमा अभियानको रूपमा कार्यक्रमहरू अगाडि बढाएको बताइन् । ‘सामुदायिक विद्यालयमा प्राथमिकता प्राप्त न्यूनतम आवश्यकताअनुसार पर्याप्त कक्षा कोठा, शिक्षक–विद्यार्थीको उपयुक्त अनुपात, समयभित्रै निःशुल्क पाठ्यपुस्तकको उपलब्धता, बालिकाका लागि विद्यालयमा शौचालयको सुविधा र कक्षाकोठामा पुस्तककुना रहनु हो ।’ उनले भनिन् । कार्यक्रममा सुन्दरहरैंचाका ४३ वटा सामुदायिक विद्यालयका प्रअहरूको सहभागिता रहेको थियो ।
‘किताब बजार’ सामुदायिक विद्यालयहरूले पुरक पाठ्य सामग्री खरिद गर्नसक्ने अनलाइन डिजिटल प्लाटफर्म हो । सामुदायिक विद्यालयहरूले पुरक पाठ्य सामग्री आफ्नो आवश्यक्ता अनुरूप खरिद गर्न सहज वातावरण नभएको अवस्थामा व्यवसायिक प्रकाशन गृह र विद्यालयबीचको प्रत्यक्ष सम्बन्ध स्थापित गर्दै आवश्यक पुस्तकत वितरण प्रणाली सहज हुने विश्लेषण परियोजनाको छ ।