एजेन्सी/ कट्रिना कैफको प्रेमजीवन बक्ररेखामा दौडिरहेको छ । कहिले प्रेम–रोमान्स त कहिले ब्रेकअपको चक्रमा घुमिरहेकी यी अभिनेत्री अहिले भने ‘सिङ्गल’ छिन् ।
 
सलमान खानसँगको लामो अफेयरपछि रणवीर कपुरको अँगालोमा बाँधिन पुगेकी थिइन्, उनी । रणवीरसँग समुद्री किनारमा रोमान्स गरेकोदेखि छुट्टै फ्ल्याट लिएको खबरले उनी छाइरहिन् । कतिसम्म भनियो भने, रणवीर र कट्रिनाले विवाहको तयारी गरिसकेका छन् । तर, उनीहरू छुट्टिए ।
 
कट्रिना र रणवीरको ब्रेकअपसँगै यो हट जोडीका फ्यान निराश भएका थिए । अहिले रणवीर आलिया भट्टसँगको अफेयरमा छन् । रणवीर आलियासँग डेट गरिरहेको खबर छाइरहँदा कट्रिना भने एक्लो जीवन बिताइरहेकी छन् । उनको लभ लाइफको चर्चा सेलाएको छ ।
 
यसैबीच उनले आफ्नो रिलेसनसिपको बारेमा कुराकानी गरेकी छन् । उनलाई सोधियो कि, अहिले उनी किन कसैसँग डेट गरिरहेकी छ्रैनन् ? जवाफमा कट्रिनाले भनिन्, ‘मलाई थाहा छैन कि, म दोस्रो पटक कोसँग फेरि डेट गर्न पाउनेछु ?’
 
उनी यत्तिमै रोकिइनन् । अगाडि थपिन्, ‘म पूर्णरूपले सिङ्गल हुँ ।’ यतिबेला कट्रिना सिङ्गल छिन् । तर, उनका समवयी अभिनेत्रीहरूले घरजम गरिसके ।
 
लामो समय अविवाहित रहेकी प्रियङ्का चोपडाले बिहे गरिन् । सोनम कपुर, दीपिका पादुकोण, अनुष्का शर्माले घरजम बसाए । यही प्रसङ्ग जोड्दै सोधिएको प्रश्नमा कट्रिनाले हाँस्दै भनेकी छन्, ‘हो, मैले देखेकी छु कि सबैले विवाह गरिसके । प्लिज कोही मलाई पछाडि नछोड ।’
 
अहिले कट्रिना अली अब्बास जफरको फिल्म ‘भारत’ मा व्यस्त छिन् । शाहरुख र आमिर खानसँग स्क्रिन साझेदार गरे पनि उनको पछिल्लो फिल्म बक्स अफिसमा असफल रह्यो । ठग्स अफ हिन्दुस्तान, जीरो जस्तो फिल्म फ्लप भए । अब कट्रिना अर्का खान अर्थात् सलमानसँग देखा पर्दैछिन् । हुन त कट्रिनाका पूर्वप्रेमी मात्र होइन, गडफादर पनि मानिन्छन् सलमानलाई । सलमानकै कारण कट्रिनाले आफ्नो करियरलाई उचाइमा पुर्याएको टिप्पणी पनि बेलाबखत आउने गर्छ ।
 
यसअघि उनीहरूको अनस्क्रिन जोडीलाई दर्शकले रुचाइसकेको छ । फिल्म ‘भारत’ बाट पनि यो जोडीले अपेक्षा गर्न सक्छन् । खासमा प्रियङ्का चोपडा ‘भारत’ बाट अलग भएपछि कट्रिनालाई उक्त स्थानमा लिइएको थियो ।
 
यस फिल्ममा कट्रिना र सलमानका साथै शशाङ्क सनी अरोडा, सुनिल ग्रोवर, ज्याकी श्राफ, दिशा पटानी र नोरा फतेही जस्ता कलाकार देखिनेछन् । सलमान र कट्रिनाको यो फिल्म कोरियन फिल्म ‘ओड टु माई फादर’ को रिमेक हो ।