धरान/ ग्यालेक्सी फिटनेस बिर्तामोडका ललित धिमाल दोस्रो नेपाल च्याम्पियन राष्ट्रियव्यापी शारीरिक सुगठन प्रतियोगिताको उपाधि चुमेका छन् । पहिलो नेपाल च्याम्पियन पनि झापाकै रामबहादुर दहाल बनेका थिए ।
धरानको सभागृहमा शनिबार राति सम्पन्न स्पर्धामा धिमाल दोस्रो नेपाल च्याम्पियन बन्दै नगद १ लाख ५० हजार रुपैयाँसहित ट्रफी जिते । धिमाल ७५ केजी तौल समूहबाट विजेता बन्दै ओभरअल राउण्डमा प्रवेश गरेका थिए । आयोजक एलाइनेट जिमका मनिष लिम्बू दोस्रो बने । ७० केजी तौल समूहबाट विजेता बन्दै ओभरअल राउण्डमा प्रवेश गरेका लिम्बूले नगद ५० हजार रुपैयाँसहित प्रमाण पत्र पाए । उनी हाल हङ्कङमा बस्दै आएका छन् ।
हङ्कङबाटै स्पधाका लागि नेपाल आएका उनी दोस्रो बनेपछि निराश बने । झापाबाटै प्रतिस्पर्धा गरेका सुमन लिम्बू तेस्रो बन्दै नगद ४० हजार रुपैयाँ जिते । त्यस्तै विराटनगरका प्रवीण राजवंशी चौथो बन्दै नगद ३० हजार रुपैयाँ जिते भने मोरङ पथरीका अजय मल्लिक पाँचौ बने । उनले नगद २५ हजार रुपैयाँसहित प्रमाण–पत्र पाए । उनीहरू क्रमशः ६५ केजी, ५५ केजी र ६० केजी तौल समूहबाट ओभरअल राउण्डमा प्रवेश गरेका थिए ।
व्यक्तिगततर्फ बुटबलबाट सहभागी बनेका विजेन्द्रमान श्रेष्ठ बेष्ट पोजर, बुटबलकै नरेश मालाकार मोष्ट मस्कुलर मेन र बेष्ट इम्प्रभुमेन्टमा मोरङका देवीबहादुर बस्नेत घोषित भए । उनीहरूले जनही ५–५ हजार रुपैयाँ प्राप्त गरे । विजेता तथा उपविजेताहरूलाई प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी, आयोजक एनाइनेट जिमका अध्यक्ष बिक्रम लिम्बूलगायतले पुरस्कार वितरण गरे ।
यसक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षकसमेत रहेका शिवलाल श्रेष्ठलाई आयोजकले सम्मानित गरेको छ । शुक्रबार प्रिजर्जिङ राउण्डबाट फाइलन राउण्डका लागि छनौट भएका थिए । ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७५ केजी तौल समूहबाट स्पर्धा गरेका थिए । आयोजकले यसपटक प्रशिक्षक प्रशिक्षण तालिम पनि प्रदान गरेको थियो । फागुनको ८ र ९ गते प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरेको थियो ।