धरान/ अभिनेता राजेश हमालले अग्रज कलाकार भुवन केसीलाई बुबा भनेपछि एक कार्यक्रम हाँसोमय बनेको छ ।
तर, यी दुईबीच मनमुटाव रहेको कुरा धेरैलाई थाहा भएकै कुरा हो । उनीहरूबीच को अग्रज भन्ने आन्तरिक रूपमा प्रतिस्पर्धा चलिरहेकै छ । उनीहरूले जीवनमा दुई वटा फिल्ममा मात्रै सँगै काम गरेका छन् । सार्वजनिक कार्यक्रममा एकसाथ कमै देखिने यी कलाकारबीच एक कार्यक्रममा भेट भएपछि दर्शकहरू अचम्मित बनेका छन् । महानायक राजेश हमाल र केसीमात्रै हैन, अनमोल केसी, नायिका निरुता सिंह एकसाथ देखिएका छन् ।
पछिल्ला पुस्ताका हट केक अभिनेता अनमोल केसी अहिले क्याप्टेन फिल्मको प्रमोशनको क्रममा छन् । उनीहरूको भेट राजेश हमालले सञ्चालन गरिरहेको ‘को बन्छ करोेडपति ? मा भेट भएको हो । जहाँ राजेशले भुवनलाई बुबा भनेर बोलाए । फागुन १७ गतेबाट प्रदर्शनमा आउन लागेको अनमोलको क्याप्टेनको प्रचारका क्रममा हमालले सञ्चालन गरेको शोमा भुवन र अनमोल पुगेका थिए ।
त्यसक्रममा राजेश हमाललाई भुवन केसीले आफ्नो छोरो अनमोलजस्तै छोरा जन्माएर सिनेमा उद्योगमा नयाँ पुस्ता दिन आग्रह गरे । राजेशले यसकुरालाई ठट्टा गर्दै भर्खर अनमोल र आफू उत्रा उत्रै भएको र भुवन केसी आफ्नो बाउ भएको बताए ।
उनले हात जोड्दै भुवनलाई भने, ‘भुवन बुबा, नाती जन्माउनका लागि म दिनरात खटिराखेको छु । एक पल पनि मिस गरेको छैन ।’ निकै रमाइलो शैलीमा प्रस्तुत भएका राजेशको जोक्समा अनमोल केसी र निरुता सिंह पेट मिचिमिचि हाँसेका थिए ।