इनरुवा/ एलेन कलेज अफ इञ्जिनियरिङ प्रालिका नाममा दर्ता भएको ठगी मुद्दा थप पेचिलो बनेको छ । प्राविधिक शिक्षाका नाममा अनुमति बेगर सञ्चालित कलेजले चर्को शुल्क लिएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।
सिटिइभिटीले कलेजले सञ्चालन गरेको कोर्षलाई पूर्णरूपमा गैरकानूनी सावित गरेसँगै ठगीसम्बन्धी परेको उजुरीउपर अनुसन्धानलाई तीव्रता दिएको प्रहरीले तीनजनालाई नियन्त्रणमा लिइसकेको छ । कलेजका सञ्चालक विनोद शर्मा करिब तीनसातायता प्रहरी हिरासतमा छन् । ठगीको प्रसङ्ग बाहिरिएसँगै अस्वस्थ देखिएका कलेजका अध्यक्ष मनोजकुमार मेहतालाई प्रहरीले केहीदिनअघि नियन्त्रणमा लिई म्याद थप गरेको छ ।
अनुसन्धानको क्रममा रहेको सुनसरी प्रहरीले मास्टर माइण्ड मानिएका विनोद मण्डललाईसमेत नियन्त्रणमा लिएको छ । कलेज स्थापनाताका एउटै समूहमा रहेर काम गरेका मण्डल त्यसताका कलेजका सहपाठीका रूपमा रहेका मेहतालाई प्रहरीले नियन्त्रणमा राखेको केहीदिनमा पक्राउ परेका हुन् ।
प्रहरी स्रोतले दिएको जानकारीअनुसार ठगी मुद्दामा पक्राउ परेकाहरूको बयानमा मण्डलको समेत संलग्नता खुलेको हो । विद्यार्थी भर्ना गराउने सवालमा मण्डलसहितको टिमवर्कमा काम गरिएको थियो । कमिसनको आधारमा विद्यार्थी जुटाउने कार्यमा खटिएका मण्डल कलेज सञ्चालक र अध्यक्षसँगको मनमुटावले बाहिरिएको जानकारहरू बताउँछन् ।
सोही विषयमा बढ्दो असन्तुष्टिलाई सार्वजनिक गराउने भूमिका खेलेको आरोप झेल्दै आएका मण्डलसमेत पक्राउ पर्नुलाई कलेजविरुद्ध लागेको ठगी मुद्दाको भागीदार मानेर अनुसन्धानमा तानिएको हुनसक्ने अड्कलबाजी गरिएको छ । सुनसरी प्रहरीलेसमेत मण्डललाई नियन्त्रणमा लिइएको जनाएको छ ।
कलेजबाट बरामद गरिएका कागजपत्र र ठगी मुद्दामा संलग्नताको आधारमा पक्राउ परेकाहरूको बयानपश्चात् अनुसन्धानका लागि मण्डललाई नियन्त्रणमा राखिएको जनाइएको छ । प्रहरीले मण्डलका सवालमा अनुसन्धान जारी रहेकाले तत्काल केही बताउन नमिल्ने जनाएको छ । पक्राउ पर्नुपूर्व मण्डलले आफूलाईसमेत प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिनसक्ने बताउँदै कलेज ठगी प्रकरणमा आफ्नो कुनै पनि संलग्नता भने नरहेको स्पष्ट पारेका थिए ।
कलेजका सञ्चालक र अध्यक्ष पक्राउ पर्नुको मुख्य कारण मानिएका मण्डललाई उनका विपक्षीहरूले एलेन प्रकरणको मास्टर माइण्डका रूपमा व्याख्या गर्ने गरेका छन् । एलेन प्रकरणसँग जोडिएर बाहिरिएको रकम बार्गेनिङमा स्थानीय केही सञ्चारकर्मीहरूको समेत संलग्नताको विषयउपर अनुसन्धान थालिएको सुनसरी प्रहरीले जनाएको छ । कलेजका अध्यक्ष मेहतानिकट रहेका र उनको परामर्शदाता र सहयोगीको भूमिका निर्वाहमा रहेको भनिएका केही स्थानीय सञ्चारकर्मीउपरसमेत आवश्यक परेको खण्डमा सोधपुछ गर्ने गरी तयारी अघि बढाइएको प्रहरी स्रोतको भनाइ छ ।
एलेन कलेज अफ इञ्जिनियरिङ प्रालि इनरुवाले सिटिइभिटीसँग इजाजत नलिइकन विद्यार्थीबाट आफूखुशी रकम असुलेर कम्प्युटर सिस्टम एड्मिनिस्टर एण्ड डेभलपमेन्ट १३ सय २० घण्टाको कार्यक्रम सञ्चालन गरेको पाइएको थियो । विद्यार्थीसहित अभिभावकले कलेजविरुद्ध ठगी मुद्दामा उजुरी गरेपश्चात् सम्बन्धित निकायको अनुसन्धानको क्रममा कलेजले सञ्चालन गरेको कोर्ष गैरकानूनी ठहरिएको थियो ।