धरान  /  नेपाली सेनाको हेलिकप्टर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलगायत डाइनेष्टी एयरको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव बोकी काठमाडौँ पुगेकाे छ ।  
दुर्घटनास्थलबाट दुर्घटनामा परेका सातै जनाको शव बुधबार र आज बिहान सुकेटार विमानस्थलमा ल्याइएको हो । सोही शव बोकी आज अपराह्न १२ः१० बजे सो हेलिकप्टर काठमाडौँतर्फ उडेको  थियाे । 

हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उनको गृह जिल्ला कास्कीमा हुने भएको छ ।  संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेकपा केन्द्रीय सदस्य रवीन्द्र अधिकारीसहित अन्य मृतकको शव श्रद्धाञ्जलीका लागि अपरान्ह ३ बजेदेखि सैनिक मञ्च टुँडिखेलमा राखिने भएको छ ।

नेकपा केन्द्रीय सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै महासचिव बिष्णु पौडेलले जारी गरेको विज्ञप्तिमा पोष्टमार्टम गरिसकेपछि श्रद्धाञ्जलीका लागि पार्थिव शरीर सैनिक मन्चमा राखिने उल्लेख छ । नेकपाले अपरान्ह ३ बजेपछि हुने श्रद्धाञ्जलीमा सहभागी हुन सबैमा आग्रहसमेत गरेको छ ।

कास्की क्षेत्र नं २ बाट संघीय संसदका लागि निर्वाचित अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलीका लागि राख्ने तयारी भइरहेको उनका स्वकीय सचिव राजेन्द्र आचार्यले जानकारी दिए । मन्त्री अधिकारी पोखरा–३३ भरतपोखरीको जामुनाबोटमा जन्मिएका थिए ।

स्वकीय सचिव आचार्यका अनुसार अधिकारीको शव काठमाडौं ल्याइएपछि त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण गरिनेछ । त्यसपछि नेकपाको केन्द्रीय कार्यालयमा पार्टीको झण्डा ओढाउने र केहीबेर श्रद्धाञ्जलिका लागि राखिने छ । गृहमन्त्रालयले निर्णय गरेपछि काठमाडौं खुलामञ्चमा सम्मानका लागि लगिनेछ ।

अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्ले बुधबार निर्णय गरिसकेको छ । पोखरा महानगरपालिका वडा नं. ३३ का अयक्ष शिवप्रसाद आचार्यले बिहीबार बेलुकासम्म अधिकारीको शव पोखरा ल्याउने तयारी भएको र शुक्रबार बिहान ८ बजेदेखि अन्तिम श्रद्धाञ्जलिका लागि राखी त्यसपछि अन्त्येष्टि गरिने जानकारी दिए ।

मन्त्री अधिकारीको शोकमा संसद बैठक स्थगित,  आज सांसदका प्रश्नको जवाफ दिने दिन थियो 
हेलिकोप्टर दुर्घटनामा निधन भएका मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शोकमा बिहीबार बोलाइएको संघीय संसद प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ।
बुधबार दिउँसो ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, यती एयरलाइन्सका प्रवन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका अंगरक्षक अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, प्राधिकरणका निर्देशक धुव्रदास भोछिभया र हेलिकप्टर क्याप्टेन प्रभाकर केसीको निधन भएको थियो।
आजको प्रतिनिधिसभा बैठकमा मन्त्री अधिकारीले सांसदहरूका लिखित र मौखिक प्रश्नको जवाफ दिने कार्यसूची तयार भएको थियो। बुधबार बिहान बसेको कार्यव्यवस्था समितिले मन्त्री अधिकारीलाई सांसदका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची तय गरेको थियो। जसमा सांसदहरूले मन्त्रालयसँग सम्बन्धित कामकारबाहीबारे प्रश्न सोध्ने तयारी गरेका थिए।

पार्टीको झण्डा आधा झुकाउने नेकपाको निर्णय

पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनको शोकमा आज नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले पार्टीको झण्डा आधा झुकाएको छ ।

नेकपा सचिवालयको बिहीबार बसेको बैठकले शोक प्रस्ताव पारित गर्दै हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीका सबै कार्यालयमा आज आधा झण्डा झुकाउने र तीन दिनसम्म शोक पुस्तिका राखिनेछ भने २३ गते केन्द्रीय कार्यालयले श्रद्धाञ्जली कार्यक्रम समेत गर्नेछ ।नेकपाले दुर्घटनामा मृत्यु भएकाहरुको परिवारको आर्थिक अवस्था हेरेर सहयोग गर्न पनि सरकारलाई आग्रह गरेको छ ।

मन्त्री अधिकारीको निधनमा राष्ट्रिय शोक, सार्वजनिक विदा

सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा बिहीबार राष्ट्रिय शोकको घोषणा बुधबार नै गरेको थियो । मन्त्रिपरिषद्को आकस्मिक बेठकले मन्त्री अधिकारीको निधनको शोकमा विहीबार राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो । विहीबार देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइनेछ भने आधा झण्डा झुकाइनेछ । मन्त्री अधिकारीको राजकीय सम्मानका साथमा अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्को निर्णय छ ।