इटहरी/ नेपाल शिक्षक महासङ्घ सुनसरीको निर्वाचन अनिश्चित भएको भन्दै नेपाल शिक्षक सङ्घ सुनसरीले आपत्ति प्रकट गरेको छ ।
तत्कालीन एमाले निकट नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको कारण शिक्षकहरूको छाता सङ्गठनको हालसम्म निर्वाचन नभएको भन्दै सङ्ले आपत्ति प्रकट गरेको हो । रिपोर्टस क्लब सुनसरीमा भएको साक्षात्कार कार्यक्रममा काङ्ग्रेस निकट शिक्षक सङ्गठनहरूले तत्काल निर्वाचनको लागि मिति तोक्न माग गरे ।
सङ्घ सुनसरीका अध्यक्ष बेनुप्रसाद सिग्देलले राष्ट्रिय शिक्षक सङ्गठनको गैरजिम्मेवारीपनका कारण समस्या भएको बताए । शिक्षक महासङ्घलाई अनिर्णयको बन्दी बनाउँने काम गरेकाले तत्काल मिति तोक्न मागसमेत गरेको छ । ‘बारम्बार मिति तोके पनि नेपाल शिक्षक सङ्घले निराधार हल्ला फिँजाई, बाहानाबाजी गरेर महासङ्घ गठन नगराउने प्रपञ्च रची शिक्षकहरूको पेशागत संस्था धरासायी बन्न पुगेको छ’–अध्यक्ष सिग्देलले भने ।
नेपाल शिक्षक सङ्घका जिल्ला सचिव देवनारायण यादवले निर्वाचनको लागि बाटो खोल्नुको विकल्प नभएको बताए । सुनसरीमा सात वटा शिक्षक सङ्घ छन् ।