धरान/ गायक हेमन्त रानाको गीत ‘सुन साईंली’ एकताका धेरै नेपालीको मुखमा झुण्डियो । ‘सुन साईंली’ गीतमा अभिनय गरेपछि गौरव पहारी र मेनुका प्रधानको जोडीको करियर पनि चम्कियो । मेनुकाको त परिचय नै बन्यो, ‘साईंली’ ।
यही लोकप्रिय गीतबाट नाम जुराएर गायक हेमन्त र अभिनेता गौरवले बनाएको फिल्म ‘साईंली’ चैत १५ बाट प्रदर्शनमा आउँदैछ । फिल्ममा साईंली गीतकै जोडी गौरव र मेनुकाको मुख्य भूमिका छ ।
आइतबार साईंलीको टिम आफ्नो फिल्म प्रचार गर्न धरान आइपुग्यो । धरानमा पत्रकार सम्मेलन गर्र्दै फिल्म टिमले साईंलीमा गीतको भिडियोभन्दा अघिको परिस्थितिको कथा भनिएको जानकारी दियो ।
फिल्ममा दयाहाङ राई, किनिपा सिंह, माओत्से गुरुङ, प्रकाश घिमिरे, पुष्कर गुरुङ, लोकेन्द्र लेखक, किरण चाम्लिङ राई, सुष्मा निरौला, इस्तु कार्की, सरोज अर्याल र अरुणा कार्कीको पनि अभिनय छ । फिल्मका निर्माता विशाल गुरुङ र मोहन राना मगर हुन् भने कार्यकारी निर्माता मणिराम पोखरेल, लेखन र निर्देशन रामबाबु गुरुङ, छायाङ्कन शैलेन्द्र डि कार्की, कोरियोग्राफर विक्रम स्वाँर, सङ्गीत कालीप्रसाद बास्कोटा र सुशान्त गौतमको रहेको छ ।