बिर्तामोड/ झापाको अर्जुनधारा नगरपालिकाको शिक्षा समितिले सामुदायिक बिद्यालयमा अध्ययनरत विद्यार्थीसँग रकम असुलेको छ । विद्यार्थीसँग समितिले रकम असुलेकोमा विरोध जनाउँदैै अखिल (क्रान्तिकारी) ले रकम फिर्ता गर्न माग गरेको छ । 
 
नगर शिक्षा समितिको बैठकले विद्यार्थीसँग २ सय रुपैयाँ परीक्षा शुल्क लिने निर्णय गरेको छ । सो निर्णय गैरकानूनी भएको भन्दै क्रान्तिकारीले आपत्ति जनाएको छ । क्रान्तिकारीले प्रेस विज्ञप्ति जारी गर्दै विरोध जनाएको हो । क्रान्तिकारीले सरकारी विद्यालयमा भएको गैरकानूनी आर्थिक चलखेल बन्द गर्न पनि माग गरेको छ ।
 
सम्पूर्ण विद्यालयमा कक्षा ८ को परीक्षा अर्काे विद्यालयमा लिने विषयमा पनि क्रान्तिकारीले विरोध गरेको छ । यस्ता कार्यबाट विद्यार्थीमा मनोवैज्ञानिक असर पर्ने भन्दै क्रान्तिकारीले आफूले अध्ययन गरेको विद्यालयबाटै परीक्षा दिन पाउने वातावरण सिर्जना गर्न अनुरोध गरेको छ । शिक्षा नियमावलीले अर्काे विद्यालयमा परीक्षा लिन नपाउने प्रावधान अघि सारेको छ । क्रान्तिकारीले अभिभावकलाई परीक्षा शुल्क नतिर्न र होम सेण्टर बनाउनका लागि दबाव दिन आन्दोलनमा उत्रन आह्वान पनि गरेको छ ।