युवापुस्ताले निकै रुचाएका दुई अभिनेता अनमोल केसी र प्रदीप खड्कालाई एकअर्कासँग दाँजेर हेर्ने गरिन्छ । उमेरमा जेठा-कान्छा भए पनि दुबैले लगभग बराबर संख्यामा फिल्म गरेका छन् । दुईलाई एकअर्काका प्रतिस्पर्धी भन्ने गरिन्छ भने उनीहरुमा ‘को नम्बर वान ?’ भन्ने अघोषित प्रतिस्पर्धा रहेको चर्चा सिनेवृतमा छ । दुईबीच सम्बन्ध राम्रो नभएको चर्चा त पुरानो भइसक्यो । उनीहरुमा बाहिर देखिएजस्तो सम्बन्ध नभएको बताइन्छ ।

अनमोल र प्रदीप यस वर्ष राजधानीमा आयोजित 'एनएफडिसी अवार्ड' मा पहिलो पटक आमने-सामने भएका थिए । एकअर्कासँग तर्किन खोजेता पनि मिडियाको आग्रहमा उनीहरुले अंकमाल गर्दै केही समय कानेखुसी पनि गरेका थिए । यसपछि उनीहरुबीच स्टारडमको लडाइँ सकिएको अर्को चर्चा सुरु भएको थियो । तर, मिडियाले न उनीहरुलाई प्रतिस्पर्धी बनाउन छाडेको छ न त दुईका फ्यानबीच तिक्तता नै सकिएको छ ।

यसबीच, गएको महिना अभिनेता प्रदीपले अनमोल अभिनीत फिल्म 'क्याप्टेन' को ट्रेलर सामाजिक सञ्जालमा साझेदार गर्दै गजबकै प्रशंसा गरे । अनमोल र आफू दाई-भाई रहेको पनि बताए । धेरैले उनको यस अनुकरणीय कार्यको तारिफ गरे । दर्शकहरुमा पनि उनीप्रतिको नजर परिवर्तन भएको छ । अनमोलले पनि एक हप्तापछि कमेन्ट गर्दै उनलाई धन्यवाद गर्दै चैत २२ मा रिलिज हुने नयाँ फिल्म 'लभ स्टेशन' का लागि शुभकामना दिए ।

तर, प्रदीपले 'क्याप्टेन' को ट्रेलर फेसबुकमा साझेदार गर्दै प्रशंसा गरेपछि अब अनमोलले पालोको पैंचो तिर्छन् कि तिर्दैनन् ? भन्ने धेरैमा चासो सुरु भएको थियो । यो प्रश्नको सामना अनमोलले पनि गरे । 'क्याप्टेन" रिलिजभन्दा अगाडि पत्रकारसँगको एक भेटमा उनले प्रदीप र आफूबीच प्रतिस्पर्धा नभएको स्पष्ट पारेका थिए । उनले भनेका थिए, 'हामी सबै नेपाली फिल्मको उन्नती चाहन्छौं र त्यसैका लागि मेहनत गरिरहेका छौं । हामीबीच प्रतिस्पर्धा भन्ने छैन ।'

धेरै भेट नभएको भए पनि आफूहरु एकअर्काको प्रशंसक रहेको उनको भनाई थियो । 'पालोको पैंचो चाहिँ तिर्नुहुन्छ ?' भन्ने पत्रकारको प्रश्नमा उनले आफ्नो स्पष्ट विचार राखेका थिए । आजसम्म आफ्नो बाहेक अन्य कुनै फिल्मको कुनै प्रचार सामाग्री सामाजिक सञ्जालमा साझेदार नगरेका उनले भने- 'प्रदीपको फिल्म (लभ स्टेशन) को ट्रेलर राम्रो लाग्यो भने अवश्य साझेदार गर्छु । तर, मनै नपरि-नपरि राम्रो छ भन्दै मख्ख बनाउन चाहिँ साझेदार गर्दिनँ ।' 

'प्रदीपको फिल्म 'लभ स्टेशन' को ट्रेलर सामाजिक सञ्जालमा साझेदार गर्नुभएन भने तपाईंलाई राम्रो लागेन भन्ने हामीले बुझ्दा हुन्छ ?' भन्ने पत्रकारको जिज्ञासामा अनमोल बोलेनन् । मुसुक्क हाँसे मात्र । यसबाट एक हप्ता अगाडि युट्युब रिलिज भएको प्रदीपको फिल्म 'लभ स्टेशन' को ट्रेलर उनलाई मन नपरेको अनुमान लगाउन गाह्रो पर्दैन, किनकि यो समाचार तयार पर्दासम्म उनले सामाजिक सञ्जाल कतै ट्रेलर साझेदार गरेका छैनन् ।

कतै हेर्ने समय त नपाएका होइनन् ? यो भने उनै जान्दछन् । तर, प्रायः सामाजिक सञ्जालमा सक्रिय रहने उनले युट्युबको ट्रेन्डिङमा रहेको आफ्नै प्रतिस्पर्धी अभिनेताको फिल्मको ट्रेलर नहेर्ने भन्ने त सवालै आउँदैन । हुनत, उनलाई ट्रेलर मन पर्नै पर्छ भन्ने होइन । सबैको हेर्ने नजर र स्वाद फरक-फरक हुन्छ । यद्यपि, प्रदीप स्वयं र उनका फ्यानहरु पनि सम्भवतः 'लभ स्टेशन' को ट्रेलर हेरेर अनमोलको 'रियाक्सन' जान्न पक्कै आतुर छन् ।

साभार : फिल्मीखबरबाट