मधुमल्ला / मोरङको मिक्लाजुङ गाउँपालिकामा डिप्लोमा तह सञ्चालन गर्ने उद्देश्यले निर्माण शुरु भएको प्रस्तावित मिक्लाजुङ क्याम्पसको भवन निर्माण कार्य गुणस्तरीय नभएको पाइएको छ ।
निर्माण कार्य गुणस्तरीय नभएको चर्चा परिचर्चा शुरु भएपछि मिक्लाजुङ गाउँपालिकाको शैक्षिक संस्थाहरूको निरीक्षणको क्रममा रहेको टोलीले उक्त भवनको पनि निरीक्षण गरेको थियो । उपाध्यक्ष सरला राई, वडाध्यक्षहरू सुशीलराज चौहान, बुद्धिलाल निरौला र गौरीमान राई, स्थानीय सञ्चारकर्मीसहितको टोलीले निरीक्षण गरेको थियो ।

निर्माण कार्यमा प्रयोग भएका सेटिङका काठहरू जीर्ण प्रयोग गरिएको, पिल्लरहरू पूर्ण उचाइसम्म नलगाएको तथा निर्माण सामग्रीसमेत कमसल एवम् गुणस्तरहीन प्रयोग गरेको पाइएको उपाध्यक्ष राईले बताइन् । क्याम्पस भवन निर्माणमा गुणस्तरहीन सामग्रीको प्रयोग गरिनुका साथै निर्माणमा लापरबाही भएको भवन निर्माण आर्थिक उपसमितिका संयोजक गोपाल बस्नेतले बताए ।

बस्नेतका अनुसार उक्त भवन निर्माण व्यवसायीहरूलाई प्रतिस्पर्धा गराई बनाउनु पर्ने माग आफूले पटक–पटक राख्दासमेत सो मुताविक नभई भवन निर्माण समितिमार्फत् कार्य अगाडि बढाउँदा कामले गति नलिनुका साथै गुणस्तरीय काम नभएको र लागतसमेत अधिक बढेको बस्नेतले बताए । निर्माण व्यवसायीहरूले ल्याएका कमसल निर्माण सामग्रीहरू आफूले फर्काएको बताउँदै गुणस्तरीय सामानको प्रयोग गरी निर्माण कार्य हुनुपर्ने बस्नेतले जनाए ।

यस विषयमा मिक्लाजुङ गाउँपालिकाका इञ्जिनियर सुवास आचार्यसँग बुझ्दा छत ढलानमा प्रयोग भएका सेटिङका सामानहरू कमसल प्रयोग भएको पाइएकाले आफूले अनुगमन गरी कमसल सामान हटाई राम्रा सामानको प्रयोग गरी निर्माण कार्य अगाडि बढाउन निर्देशन दिएको बताए । उनले भने, ‘कमसल सामान नहटाएमा उक्त निर्माण कार्य अगाडि बढ्ने छैन ।’

निर्माणको जिम्मा पाएका ठेकेदार सुरेन्द्र थापाले काम गर्ने कामदारले कमसल सामान प्रयोग गरेको हुँदा ती कमसल भनिएका सामानहरू हटाई राम्रा सामानहरू राखी निर्माण कार्यलाई गुणस्तरीय बनाउन आफू प्रतिबद्ध रहेको बताए । थापाले निर्माण कार्यमा विभिन्न कारणले गर्दा ढिलाइ भएको स्वीकारे । गत जेठ महिनामा शिलान्यास भएको उक्त क्याम्पसको निर्माण कार्यमा ढिलाइ भएको छ ।

miklajung-campus