विराटनगर/ साँझ पर्दै थियो, विराटनगरस्थित नमस्कार होटलको खेल मैदानमा युवाहरूको जमघट बढ्दै गयो । गायिका इन्दिरा जोशीसहित चर्चित गायक, गायिका आउने भएपछि युवाहरूको भीड बढेको थियो । बुधबार दिउँसो दिनभरि होलीमा रङ्गिएका युवा–युवतीहरू साँझ परेपछि चर्चित गायक÷गायिकाको प्रस्तुतिमा झुम्मिने अवसर पाए ।
मञ्जिला मुभिज क्रिएसनले आयोजना गरेको ‘होली हङ्गामा’ कार्यक्रममा गायिका जोशी, साहिमा श्रेष्ठ, गायक शुभम न्यौपानेसहित स्थानीय कलाकारहरूको प्रस्तुतिमा युवायुवतीहरूले मध्यरातसम्म मनोरञ्जन लिने अवसर पाए ।
आकर्षक पहिरनमा रातको ८ बजे स्टेज उत्रिएकी गायिका जोशीले ‘मोटरसाइकलमा’ गीतबाट आफ्नो प्रस्तुति शुरु गरिन् । उनले गाएको यो चर्चित गीतमा स्वरमा स्वर मिलाउँदै मैदानभरि जम्मा भएका युवायुवाती छमछमी नाचे । रङको पर्व होलीको शुभकामना दिँदै गायिका जोशीले आफ्ना चर्चित आधा दर्जन गीत प्रस्तुत गरी स्टेजबाट बिदा लिइन् ।
गायिका साहिमा श्रेष्ठले पनि नेपाली र भोजपुरी गीत गाएर मनोरञ्जन प्रदान गरिन् । कार्यक्रममा स्थानीय कलाकारहरूको नृत्य र ब्याण्डकोसमेत प्रस्तुति रहेको थियो ।