सिरहा । सिरहामा एसईई परीक्षामा ९ हजार १ सय ८५ परीक्षार्थी सहभागी हुँदै छन् । भोलि (आइतबार) बाट माध्यमिक शिक्षाको एसईई परीक्षा २०७५ सिरहा जिल्लाका ३८ केन्द्रमा सञ्चालनको लागि पूर्ण तयारी भइसकेको छ ।
जिल्लाका ३८ सामुदायिक विद्यालयमा मात्र केन्द्र स्थापना गरिएको छ । परीक्षार्थीको सङ्ख्या ९ हजार १ सय ८५ छ भने सामुदायिक विद्यालयका ६ हजार ५ सय ४४ मात्र सहभागी हुँदैछन् । पूर्ण परीक्षार्थीमध्ये सामुदायिकतर्फ ६५.२८ प्रतिशत परीक्षार्थी छन् । प्राविधिकतर्फ २ सय ३३ परीक्षार्थी रहेका छन् भने २०७४ भन्दा पुरानो पाठ्यक्रमअनुसारका ग्रेडवृद्धिका २ सय ७१ तथा २०७४ सालदेखिका नयाँ पाठ्यक्रम ग्रेडवृद्धिका ३ सय ३५ परीक्षार्थी सहभागी हुने भएका छन् ।
परीक्षा केन्द्र अनुसारको परीक्षार्थीको सङ्ख्या ९ हजार १ सय ८५ मध्ये नियमिततर्फ जम्मा ९ हजार ६२ मात्र सहभागी हुने जिल्ला समन्वय समिति शिक्षा विकास शाखा सिरहाले जनाएको छ भने एक सय २३ परीक्षार्थी २०७५ सालको एसईई परीक्षामा सहभागी हुन विद्यार्थीहरूको विवरण फारम हालसम्म पनि विद्यालयहरूबाट उपलब्ध नगराएको परीक्षा शाखाले जनाएको छ ।
सिरहा जिल्लाका ३८ केन्द्रमा ३८ केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष भने ४७ जना तोकिएका छन् । यस्तै ४ सय ७५ जना निरीक्षकर ८३ जना सहायक निरीक्षक तोकिएका छन् । १ सय ७५ जना कार्यालय सहयोगीसमेत परीक्षामा परिचालन हुँदैछन् ।