विराटनगर/ आज (आइतबार)बाट शुरू हुने यस वर्षको एसईई परीक्षामा प्रदेश–१ बाट ८४ हजार ५ सय ८ जना परीक्षार्थी सामेल हुने भएका छन् । 
 
प्रदेशका १४ जिल्लामा ३ सय ७२ वटा परीक्षा केन्द्रबाट सो सङ्ख्यामा विद्यार्थीहरूले परीक्षा दिने भएका हुन् । प्रदेश–१ मा सबैभन्दा बढी परीक्षार्थी सामेल भएको जिल्ला मोरङ भएको सामाजिक विकास मन्त्रालयका उपसचिव दिव्यराज कट्टेलले जानकारी दिए । मोरङमा यसपटक १८ हजार ३ सय ५२ जना विद्यार्थी एसईई परीक्षामा सहभागी हुनेछन् । प्रदेशको सबैभन्दा कम परीक्षार्थी भएको जिल्लामा तेह्रथुम रहेको छ । १४ वटा केन्द्र रहेको तेह्रथुमबाट १ हजार ९ सय ५४ जना परीक्षार्थी सामेल भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।   
 
शिक्षा विकास तथा समन्वय इकाईले मोरङमा ६९ वटा केन्द्रमा केन्द्राअध्यक्षसमेत चयन गरिसकेको छ । मोरङमा सामुदायिक १ सय ७९ वटा र संस्थागत गरी १ सय ८९ वटा गरी ३ सय ६८ वटा विद्यालय रहेका छन् । यस पटकको परीक्षामा नियमिततर्फ १८ हजार ३ सय ५२ जना र एक्जाम्टेडतर्फ २ सय ८४ जना विद्यार्थी सहभागी हुनेछन् । यस अघि राजनैतिक भागबण्डाको कारणले गर्दा परीक्षाको अघिल्लो रातमात्र नियुक्त हुने गरेको थियो । गत वर्षदेखि समयमै केन्द्राध्यक्षहरू तोकिँदै आएको छ । 
 
शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख राजेन्द्र बुढाथोकीले यसपटक केन्द्रमा उत्तर पुस्तिका र प्रश्नपत्र पठाइसकेको बताए । उनले मोरङमा माध्यमिक शिक्षा परीक्षाका लागि २ हजार ६ सय ७१ जना जनशक्ति परिचालन गरिने शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख राजेन्द्र बुढाथोकीले बताए । मोरङमा माध्यमिक शिक्षा परीक्षाका लागि २ हजार ६ सय ७१ जना जनशक्ति परिचालन गरिएको बताइएको छ । 
 
मुलुक सङ्घीयतामा गइसकेको अवस्थामा पहिलो पटक परीक्षा व्यवस्थापन, सञ्चालन,अनुगमन उत्तरपुस्तिका खरिदलगायत सम्पूर्ण काम प्रदेश सरकारले गरेको छ । आइतबार बिहान ८ बजेदेखि ११ बजेसम्म हुने एसईई परीक्षा २१ गतेसम्म हुने छ । पहिलो दिन आज अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ ।