विराटनगर/ आइतबारबाट शुरु भएको एसईई परीक्षामा चिट चोराउने मोरङका दुईजना परीक्षा निरीक्षकलाई निष्काशित गरिएको छ । 
 
मोरङको धनपालथान गाउँपालिका–६ स्थित सरस्वती माध्यमिक विद्यालय दादरबेरिया परीक्षा केन्द्रले २ जना परीक्षा निरीक्षकलाई निष्काशित गरेको हो । 
 
परीक्षा केन्द्रमा खटिएका शिक्षक सञ्जय चौधरी र शिक्षिका शीलाकुमारी राजवंशीलाई अमर्यादित तरिकाले परीक्षा गराएको भन्दै एसईई परीक्षा अवधिभर परीक्षा निरीक्षकबाट हटाएको हो । पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा भएको थियो । १० बजेर १० मिनेटको समयमा उक्त परीक्षा केन्द्रमा शिवशक्ति माध्यमिक विद्यालय सोराभागकी परीक्षार्थी ऐश्वरी राईलाई मोबाइलबाट चिट चोरिरहेको अवस्थामा केन्द्रका केन्द्राध्यक्ष भागवत यादवले फेला पारेका थिए । चिट चोराएको फेला पारेपछि शिक्षक चौधरी र राजवंशीलाई निष्काशित गरिएको छ भने परीक्षार्थीको अङ्ग्रेजी विषयको परीक्षा रद्द गरेको बताइएको छ । 
 
झापामा चार बन्दी र दुई दृष्टिविहीन परीक्षार्थी
झापाबाट चारजना कैदीबन्दी र दुई दृष्टिविहीनले एसईई परीक्षा दिएका छन् ।
 
कैदीबन्दीले झापा जिल्ला कारागारबाट नै परीक्षा दिएको शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख योगेन्द्र बरालले बताए । झापाकै दुई बालकैदीबन्दीले भने बाल सुधार गृह सानोठिमीबाट परीक्षा दिइरहेको उनले जनाए ।
 
कारागारभित्र रहेको बन्दी विकास पुस्तकालयमा बसेर कैदीबन्दीले परीक्षा दिएको उनले बताए । परीक्षामा सामेल सबै कैदीबन्दी पुरुष रहेका छन् । उनका अनुसार डिल्लीराज माध्यमिक विद्यालय कचनकवल र अनारमनी माविबाट एक–एक दृष्टिविहीन, बुद्धआदर्श मावि, पथरिया मावि कचनकवल, हिमाली मावि पृथ्वीनगरबाट एक–एक जना अपाङ्गता भएका विद्यार्थी परीक्षामा सामेल भएका छन् । 
 
त्यसैगरी सरस्वती मावि जामुनखाडी परीक्षा केन्द्रबाट ६ जना सुस्तश्रवण भएका विद्यार्थीले परीक्षा दिएका छन् । उनीहरू सबै कन्काई मावि सुरुङ्गाका विद्यार्थी हुन् । 
 
धनकुटामा परीक्षा दिँदै किरियापुत्री 
धनकुटाको हिले मावि परीक्षा केन्द्रमा एक जना किरियापुत्रीले परीक्षा दिइरहेका छन् । हिलेस्थित मनकामना बोर्डिङ स्कुलका दीपेन दर्लामी मगरले आमाको निधन भएपछि काजकिरियामा बसेकै अवस्थामा परीक्षा दिएका हुन् । 
 
धनकुटामा एक दृष्टिविहीन परीक्षामा सामेल भएका छन् । यसैगरी एक अपाङ्गता भएका परीक्षार्थीले ग्रामीण जनता मावि नाम्जे केन्द्रबाट परीक्षामा दिँदैछन् । साँगुरीगढी गाउँपालिकाको सिंहकाली मावि आहालेका विद्यार्थी उनका दुवै हात चल्दैनन् । उनीहरूले लेखन सहयोगीमार्फत् परीक्षा दिइरहेका छन् ।
 
एसईई परीक्षामा धनकुटाबाट २ हजार ८ सय २२ परीक्षार्थी सहभागी भएका छन् ।  पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षामा जिल्लाभर २९ परीक्षार्थी अनुपस्थित रहेको जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख रामबहादुर थापाले ब्लाष्टलाई बताए ।