इनरुवा/ एसईई परीक्षामा सुनसरीको विभिन्न केन्द्रमा विषयगत शिक्षक राखेर चिट चोराउने गरेको सहभागी प्ररीक्षार्थीहरूले नै आरोप लगाएका छन् ।
एसईईमा जिल्लाको विभिन्न परीक्षा केन्द्रमा विषयगत शिक्षकहरू राखेर चिट चोराउने गरेको सहभागी विद्यार्थीहरूले नै गुनासो गरेका हुन् । आफ्नो विद्यालयका विद्यार्थीलाई राम्रो ग्रेड ल्याई उत्तीर्ण गराउनका लागि परीक्षा केन्द्रका केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र गार्डहरूको मिलोमतोमा विषयगत शिक्षकहरू राखेर चिट चोराइरहेको अनुगमनकर्ताहरूले गुनासो गरेका छन् ।
अङ्ग्रेजी, नेपाली विषयको परीक्षामा विषयगत शिक्षक राखेर चिट चोराइरहेको पाइएको अनुगमनकर्ताहरूले गुनासो गरेका हुन् । केन्द्राध्यक्षहरूले विद्यार्थीहरूसँग चिट चोराउने नाममा र परीक्षामा राम्रो ग्रेड ल्याउनका लागि सहयोग गर्ने नाममा अतिरिक्त रकम असुल्ने गरेको र विषयगत शिक्षकहरू राखेर चिट चोराउने गरेको विद्यार्थीहरूले गुनासो गरेका छन् । केन्द्राध्यक्षहरूले परीक्षाकेन्द्र परेको विद्यालयहरूसँग परीक्षा खुकुलो पारिदिने र चिट चोर्नका लागि सहयोग गर्ने बाहानामा एउटा विद्यालयसँग रकमसमेत लिएको शिक्षा स्रोतले जनाएको छ ।
अनुगमनकर्ताहरू अनुगमनको क्रममा परीक्षा केन्द्रमा पुगेको बेलामा केन्द्राध्यक्षहरूले विद्यार्थीहरूलाई चिट, गाइड, गेसपेपरहरू राम्रोसँग सम्हालेर राख भन्दै भन्ने गरेको विद्यार्थीहरूले बताए । परीक्षाको नाममा विद्यार्थीहरूले खुल्लारूपमा गाइड, गेसपेपर, नोट बुक लाने गरेका छन् ।
यता शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख गोविन्दप्रसाद पोखरेलले जिल्लामा एसईई परीक्षा मर्यादितरूपमा भइरहेको दाबी गरेका छन् । यस वर्षको एसईई परीक्षामा जिल्लामा प्राविधिक धारतर्फ २ सय ५० जना र नियमिततर्फ १२ हजार २ सय ९९ गरी जम्मा १२ हजार ९ सय तीन परीक्षार्थी सहभागी छन् ।