यासोक (पाँचथर)/ पाँचथर र तेह्रथुम जोड्ने तमोर नदीमा निर्माणधीन मोटरेवल पुलको काम रोकिएको छ ।

कुम्मायक गाउँपालिका र तेह्रथुमको म्याङ्लुङ्ग नगरपालिका हुँदै बग्ने तमोर नदीमा निर्माण हुँदै आएको मोटरेवल पुल प्राविधिक कठिनाइका कारण स्थगित भएको हो । २०६९ सालदेखि निर्माण शुरु भए पनि काम रोकेर विभिन्न बाहनाबाजी गर्दै म्याद थप्दै आएको स्वच्छन्द निर्माण सेवाले प्राविधिक कठिनाइ भएको भन्दै पुनः पुल निर्माणको काम स्थगित गरेको हो । निर्माण स्थलमा पुलको पाँचौ पिलर निर्माण गर्ने क्रममा चटान फेला परेपछि डिभिजन कार्यालय धनकुटालाई जानकारी गराइएको निर्माण कम्पनीले जनाएको छ ।

पिल्लर निर्माणको लागि ११ मिटर गहिराइसम्म जानुपर्ने हुन्छ तर अहिले डेढ मिटरमै चट्टान देखा परेकाले काम गर्न समस्या भएको निर्माण कम्पनीका प्रमुख जयराम लामिछानेले बताए । ‘पुल निर्माणमा समस्या देखा परेको विषयमा डिभिजन कार्यालय धनकुटामा जानकारी गराएका छौ ।’ उनले भने, ‘योजनाको काममा निर्माण कम्पनीको तर्फबाट चटानलाई फोर्ने या अन्य कुनै उपाय खोज्ने भन्ने विषयमा गोताखोरको सहयोगले चाडै निकास निकाल्ने तयारी भइरहेको छ ।’ छिटोमा असार मसान्त र ढिलोमा दशैं अगाडि नै योजना सम्पन्न हुने उनले बताए । केही प्राविधिक कठिनाइ भए पनि निर्माण स्थलमा सबै उपकरण पुर्याएकाले चाँडै काम पूरा गर्ने उनको दाबी छ ।

निर्माण शुरु भएको ६ वर्षमा पनि पुल निर्माणको काम पूरा हुन सकेको छैन । पिल्लर निर्माण बाहेक अन्य काम गर्नुपर्ने भए पनि सबै काम स्थगित गरेको पाइएको छ । पुलको १ सय ४९ मिटर लम्बाइमध्ये ९२ मिटर ढलान गर्नुपर्ने छ भने बाँकी ५७ मिटर स्टिलको ट्रष्ट राख्नुपर्ने हुन्छ । खोलाको बीच भागमा ४ वटा पिलर निर्माण गरी ढलान गरेको पुल वारिपारि जोडिएको छैन ।

सडक डिभिजन कार्यालय धनकुटाका इञ्जिनियर अनुप साउदेनका अनुसार पुलको काममा केही कठिनाइ आएको भए पनि त्यस्को निदान गरी योजनाको कामलाई अघि बढाउँन निर्माण पक्षलाई निर्देशन दिइएको छ । उनले भने, ‘पानी भित्रको काम भएकाले केही समस्या छन् । तर योजनाको काम कसरी गर्नुपर्ने हो यो विषयमा निर्माण कम्पनीले आवश्यक उपकरणको प्रयोग गरेर काम अगाडि बढाउनुपर्छ ।’ यस विषयमा कार्यालय कडाइका साथ अघि बढ्ने उनले बताए । निर्माण कम्पनीले २०६९ सालमा १५ करोड ३६ लाख १४ हजार ४ सय ५१ रुपैयाँमा पुलको ठेक्का सम्झौता गरेको थियो ।