धरान/ विष्णु ममोरियल स्कुलले मन्टेश्वरी कक्षा सञ्चालनमा ल्याएको छ ।
स्कुलले मन्टेश्वरीका लागि छुट्टै भवनबाट सञ्चालनमा ल्याएको हो । बालबालिकाको मनोविज्ञान बुझेर अध्यापन गरिने पद्दति नै मन्टेश्वरी हो । यसअघि नर्सरीदेखि मात्रै विद्यालयले भर्ना लिँदै आएको थियो । करिब ४ करोडको लागतमा भवनलाई पुनर्ममत गरेर मन्टेश्वरी कक्षा सञ्चालनमा ल्याएको प्रिन्सिपल बेनिन्द्र कटवालले जानकारी दिए ।
अभिभावकको आवश्यकतालाई मध्यनजर गर्दै मन्टेश्वरी कक्षा सञ्चालनमा ल्याएको उनले बताए । ‘भवनलाई रिनोभेसन गरेर सञ्चालनमा ल्याएका छौं’ उनले भने, ‘बालबालिकाले त्यहाँ शान्त वातावरणमा अध्ययन गर्न पाउनेछन् ।’
मन्टेश्वरीमा चाहिने सम्पूर्ण पूर्वाधारहरूसमेत निर्माण गरिएको छ । बालबालिकालाई उनीहरूले चाहेबमोजिम नै अध्यापन गरिने पद्दति भएकाले पनि बालबालिकाको मागबमोजिम नै खेलकुद स्थलसमेत निर्माण गरिएको छ । हालसम्म मन्टेश्वरीमा १५ जनाले भर्ना लिइसकेका छन् ।
मन्टेश्वरीमा भर्ना शुल्क २० हजार रुपैयाँ तोकिएको छ भने मासिक शुल्क २ हजार ५ सय रुपैयाँ राखिएको छ । बालबालिकाहरूलाई तीन पटक खाने–बस्ने व्यवस्था रहेको छ । अभिभावक, बच्चा र शिक्षकबीच परस्पर सम्बन्ध विकास गर्ने गरी नै मन्टेश्वरी सञ्चालनमा ल्याउन लागिएको हो । मन्टेश्वरी कक्षा नहुँदा अभिभावकले अन्यत्र बच्चाहरू लानु पर्ने बाध्यता थियो ।
अब भने त्यो समस्या हल भएको प्रिन्सिपल कटवालले बताए । धरानमा तीन दशकदेखि विद्यालयले शिक्षा दिँदै आएको छ । विद्यालयमा हाल कक्षा १२ सम्म सञ्चालन हुँदै आएको छ । विद्यालयमा झण्डै १६ सय विद्यार्थीहरू अध्ययनरत छन् ।