भारतीय कमेडियन कपिल शर्माले सञ्चालन गर्ने चर्चित कमेडी शो 'द कपिल शर्मा शो' लाई बलिउड फिल्म प्रमोसन गर्ने ठूलो प्ल्याटफर्मको रुपमा लिने गरिन्छ । बलिउडका ठूला स्टारदेखि डेब्यू कलाकारसम्म आफ्नो फिल्म प्रचार गर्न उनको शोमा पुग्ने गरेका छन् । करीब १ वर्ष यो शो बन्द हुँदा बलिउडका धेरै फिल्मले प्रचार गर्ने ठूलो मञ्च गुमाएका थिए ।  
 
'द कपिल शर्मा शो' को दुरुस्तै नक्कल गर्दै नेपालमा सञ्चालनमा आएको कमेडियन जितु नेपालको ‘मुन्द्रेको कमेडी क्लब’ पनि अहिले नेपाली फिल्मको प्रचार-प्रसार गर्ने हब बन्दै गएको छ । टिभी र युट्युबमा सर्वाधिक हेरिने शोमध्ये यो अग्रणी स्थानमा आउँछ । यसको टीआरपी पनि निकै राम्रो रहेको बताइएको छ । यो शोमा पुगे फिल्मको प्रचारमा ठूलो सहयोग पुग्ने सोचाइ फिल्मकर्मीमा स्थापित हुन थालेको छ । 
 
शोको सुरुवाती केही हप्ता जितुले अतिथीलाई ताकेता गरेर बोलाउने गरेका थिए । बिस्तारै कमेडी क्लबले लोकप्रियता हासिल गर्न थालेपछि अहिले धेरैले उनलाई शोमा बोलाउन आग्रह गर्ने गरेका छन् । यसलाई शोको सफलता मानिएको छ । हरेक हप्ताको सोमबार नेपाल टेलिभिजन र युट्युबमा एकसाथ प्रशारण हुने उक्त शोमा अहिले प्रायः नेपाली फिल्मको प्रचार मात्र भइरहेको छ । 
 
हरेक हप्ता आफ्नो फिल्मको प्रचार गर्न कलाकार, निर्देशक तथा निर्माताहरु जितुको शोमा पुग्ने गरेका छन् । शहरदेखि गाउँका कुनाकाप्चामा समेत सहजै फिल्मको बारेमा जानकारी पुग्ने हुँदा फिल्मकर्मीले यस शोलाई फिल्म प्रचारको भरपर्दो माध्यमको रुपमा लिन थालेका छन् । २२ एपिसोड प्रशारण भइरहेको 'मुन्द्रेको कमेडी क्लब' मा अनमोल केसीदेखि प्रदीप खड्कासम्म फिल्मको प्रचारका लागि पुगिसकेका छन् । 
 
सोमवारको एपिसोडमा अभिनेता प्रदीप आफ्नो नयाँ फिल्म 'लभ स्टेशन' को प्रचार गर्न अभिनेत्री जसिता गुरुङ र निर्देशक उज्ज्वल घिमिरेको साथमा पुगेका थिए । अघिल्लो हप्ता युवा ज्योतिष हरिहर अधिकारी आफ्नो डेब्यू फिल्म 'शुभ लभ' को प्रचार गर्न शोमा नव-अभिनेत्री क्रिस्टिन पौडेलसँग उपस्थित भएका थिए । आउँदो हप्ता अभिनेता सलिनमान बनियाँ आफ्नो नयाँ फिल्म 'यात्रा' को प्रमोसन गर्दै शोमा देखिनेछन् । 
 
युट्युब रिलिजको केही घण्टामा नै लाखौं पटक हेरिने यो शोले नेपाली फिल्मको बजार विकास र विस्तारमा पनि महत्त्वपूर्ण भूमिका खेल्न थालेको फिल्मवृतमा चर्चा हुन थालेको छ । तर, जितुको शो फिल्मको प्रचार गर्ने थलोको रुपमा मात्र सीमित हुँदै गएको कतिपयको टिप्पणी पनि छ । अन्य क्षेत्रको प्रबद्र्धनमा पनि उनले शोको माध्यमबाट भूमिका खेल्नुपर्ने बताउन थालिएको छ । नेपाली फिल्मकर्मीहरु भने फिल्मको प्रचार गर्ने गतिलो मञ्च भेटेर दंग छन् ।