रङ्गेली/ विराटनगर–५ की सुनिताकुमारी ठाकुरले दोस्रो सन्तान पनि छोरी जन्माएकी छन् । उनको दोस्रो सन्तान छोरीका लागि विराटनगर महानगरपालिकाले पढाइ खर्च बेहोरि दिने भएपछि सुनिता दङ्ग छिन् ।
 
महानगरपालिकाले उनकी छोरीको नाममा २५ हजार रुपैयाँ बैङ्कमा ‘फिक्स डिपोजिट’ गरिदिएको छ । सुनिताकुमारी संरक्षक रहने गरी पढाइ खर्चका लागि महानगरले बैङ्कमा बचत गरिदिएको पैसा छोरीको पढाइमा खर्च गर्न पाउने महानगरले जनाएको छ । सुनिताको जस्तै महानगरले दोस्रो सन्तान पनि छोरी भएका नगरका अन्य ३६ आमा संरक्षक रहने गरी २५ हजार रुपैयाँका दरले बचत राखिदिएको छ । 
 
गत आर्थिक वर्षदेखि महानगरले थालेको यो अभियान पहिलो सन्तान छोरी भएका र निश्चत दायरा पूरा गर्ने २२ दम्पतीलाई पनि नगद तीन हजारसहित सम्मान गरेको छ । ‘छोरीप्रतिको दृष्टिकोणमा परिवर्तन ल्याउने अभियान साथै छोरी पढाउ अभियान सञ्चालनमा ल्याएको महानगर उपप्रमुख इन्दिरा कार्कीले बताइन् ।
 
छोरीमाथि हुने विभेद हटाउन विराटनगर महानगरपालिकाले छोरी पढाउन अभिभावकलाई आर्थिक सहयोग गरिरहेको छ । दोस्रो सन्तान पनि छोरी हुने ३७ दम्पतीका छोरीको नाममा महानगरले २५ हजारका दरले बचत गरिदिएको छ ।
 
अभियानमा महानगरले ग्लोबल आईएमई बैङ्कमा ३७ दम्पतीको खाता खोली जम्मा गरिदिएको महानगर उपप्रमुख इन्दिरा कार्कीले बताइन् । दास्रो सन्तान छोरीको नाममा पढाइ खर्च यसै आर्थिक वर्षबाट उपलब्ध गराउन थालिएको हो । 
 
महानगरले विवाहको उमेर कम्तीमा २० वर्ष पूरा गरेको, पहिलो सन्तान छोरी भएको, नियमित गर्भ जाँच गराएको र अस्पतालमा प्रसूति गराउने आमाहरूलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको थियो । महानगरले छोरीको सम्मानका लागि कार्यक्रम ल्याएको विराटनगर महानगरपालिकाकी  उपप्रमुख कार्कीले बताइन् ।