बेलबारी/ सरकारी शिक्षकका छोराछोरी सामुदायिक विद्यालयमै पढाउन शिक्षा कार्यालयले पटक–पटक निर्णय गरे तापनि अहिले कार्यान्वयन हुन सकेको छैन ।
तर धनकुटाको चौबीसे गाउँपालिकाले भने यसै शैक्षिक सत्रदेखि यो अभियानको शुरुवात गरेको छ । गाउँपालिकाबाट तलब–भत्ता बुझ्ने शिक्षक कर्मचारीले त्यहाँकै सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय गरेको छ । गाउँपालिकाबाट सेवा सुविधा तलब–भत्ता लिने जनप्रतिनिधि, शिक्षक, कर्मचारीका छोराछोरी, नातिनातिना एका घरका परिवारले अनिवार्य सामुदायिक विद्यालयमा पढाउनु पर्ने गाउँपालिकाले निर्णय गरेको छ ।
निर्णय साथसाथै गाउँपालिकाले मातहतका वडा कार्यालय, शिक्षा समितिलाई परिपत्र गरी निर्देशन पनि गरिसकेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशी राईले विद्यालयका प्रअहरूलाई बोलाएर निर्णय कार्यान्वयन गर्न निर्देशनसमेत दिएका छन् ।
‘हामी निर्णयलाई कार्यान्वयमा ल्याएर सामुदायिक विद्यालयलाई नमूना विद्यालयका रूपमा स्थापित गर्नेछौं’ अधिकृत राईले भने, ‘सामुदायिक विद्यालयको पठनपाठन तथा भौतिक पूर्वाधारलाई पनि गुणस्तरीय बनाउन सबैपक्ष लागिपर्नु पर्ने हुन्छ ।’
अहिले चौबीसे गाउँपालिकाका विद्यालयहरूको भौतिक पूर्वाधार र पठन–पाठन पनि गुणस्तरीय बन्दै गएको अधिकृत राई बताउँछन् ।