धरान/ भोजपुरको आमचोक गाउँपालिकाका–१२ वटा आधारभूत तथा माध्यामिक विद्यालयका प्रधानाध्यापक, लेखापाल र एक जना शिक्षकलाई आचोक गाउँपालिकाले सात दिने आधारभूत कम्प्युटर तालिम प्रदान गरेको छ ।
गाउँपालिकाभित्र ४३ वटा विद्यालयहरू रहेका छन् ती मध्य १२ वटा विद्यालयका ३६ जना शिक्षकहरूलाई पहिलो चरणमा तालिम प्रदान गरिरहेको हो । विद्यालयको हिसाबकिताब कम्प्युटर प्रणालीमा राख्न र परीक्षाको कपी जाँच गरेपछि ग्रेडिङ प्रणालीलाई सहज बनाउन तालिमको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष अशोक राईले बताए । ‘भएका सबै विद्यालयको लेखा प्रणाली पेपरलेस बनाउने र कक्षा ८ देखि १२ सम्म सबै विद्यालयहरूमा कम्प्युटर शिक्षा लागू गर्ने योजना छ,’ अध्यक्ष राईले भने, ‘सबै विद्यालयहरू जिल्लाकै नमूना विद्यालय बनाउने हाम्रो अभियान हो ।’
झण्डै शिक्षक पेशामा ३० वर्ष बिताएका जनकपुरका ५० वर्षीय बेचनकुमार यादव यति बेला कम्प्युटर सिक्दैछन् । भोजपुरको आमचोकस्थित चण्डेश्वर माविमा गणित विषय पढाउँदै आएका यादव किबोर्डमा हात चलाउन थालेको एक साता भयो । उनी भन्छन्, ‘जमाना अब पेपरलेस भएछ । आफू परे पुरानो पुस्ताको ।
कख पो सिक्न थालियो । हाम्रो पालामा यो थिएन । अहिले सिक्दै छु ।’ २० वर्षदेखि भोजपुरका विभिन्न विद्यालयमा अध्यापन गराई सकेका उनी तीन वर्षदेखि चण्डेश्वर माविमा छन् । उनी जस्तै पाको उमेरका शिक्षक नन्दकुमार राई पनि कम्प्युटर सिक्दैछन् । टाइपिङ, कपीपेष्ट, कट, पेज निर्माणलगायत इमेल इन्टरनेट चलाउन सिकिरहेका छन् । तालिमको सहजीकरण सञ्चार तथा सूचना प्रविधि (आइटी) अधिकृत नवीन श्रेष्ठले गरिरहेका छन् । विद्यालयका लागि गाउँपालिकाले नयाँ सप्टवेयर निर्माण गरी कम्प्युटरमा लेखा राख्ने, कपी काट्न सजिलो बनाएको आइटी अधिकृत श्रेष्ठले जानकारी दिए ।