विराटनगर ।  विराटनगर–२ स्थित सेन्ट जोसेफ स्कुलले ‘बेस्ट स्कुल अफ द इयर २०१९’ को अवार्ड पाएको छ ।

इन्टरनेशनल स्कुल एवार्ड ग्लोबलले भारतको पञ्जावमा भव्य समारोहको बीच सेन्ट जोसेफ स्कुललाई उक्त अवार्ड प्रदान गरेको हो । ५१ देशहरूबाट ९ हजार ६ सय ७३ वटा विद्यालयहरू मध्ये ७० वटा विद्यालय नोमिनेसनमा परेका थिए । नोमिनेसनमा परेकामध्येबाट सुविधा सम्पन्न भौतिक पूर्वाधारको साथै प्रविधिको माध्यमबाट हुने सिकाइ पद्धतिहरू उत्कृष्ट भएको भन्दै सेन्ट जोसेफ स्कुलले ‘बेस्ट स्कुल अफ द इयर’ अवार्ड प्राप्त गरेको स्कुलका निर्देशक रोहितजङ थपलियाले जानकारी दिए ।

‘विभिन्न राष्ट्रका उत्कृष्ट विद्यालयहरू नोमिनेसनमा परेका थिए’ स्कुलका निर्देशक थपलियाले भने, ‘नेपालबाट हाम्रो स्कुलसहित अन्य दुई विद्यालयले विभिन्न विधामा अवार्ड जिते ।’ प्रदेश १ बाट सो अवार्ड प्राप्त गर्ने सेन्ट जोफेस स्कुलमात्र रहेको बताइएको छ ।

इन्टरनेशनल स्कुल अवार्ड ग्लोबलले वितरण गरेको यो अवार्ड तेस्रो संस्करणको हो । आगामी वर्ष नेपालमा उक्त अवार्ड वितरण गर्न आयोजकले इच्छुक देखाएको बताइएको छ । सो एवार्ड प्राप्त गर्ने सेन्ट जोसेफ स्कुल २०३४ सालमा स्थापना भएको हो । स्कुलमा नर्सरीदेखि कक्षा १२ सम्म अध्यापन हुँदै आएको निर्देशक थपलियाले बताए । उनका अनुसार प्लस टुमा विज्ञान, होटल म्यानेजमेन्ट, व्यवस्थापन सङ्कायलगायतको अध्यापन हुँदै आएको जानकारी दिए ।