धरान/ धरान उपमहानगरपालिकाद्वारा गठित धरान प्रज्ञा प्रतिष्ठानले दृष्टिविहीन र किशोर किशोरीलाई लक्षित गरेर दुईदिने मूर्तिकला प्रशिक्षण सम्पन्न गरेको छ । धरान सभागृहमा सम्पन्न मूर्तिकला प्रशिक्षणमा पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयका १८ दृष्टिविहीन विद्यार्थी र अन्य विद्यालयका विद्यार्थीहरू सहभागी थिए ।
उनीहरूलाई इटहरी–४ का मूर्तिकार अशोक तिम्सिनाले मूर्तिकलाबारे सैद्धान्तिक र व्यवहारिक ज्ञान दिएका थिए । सहभागीहरूले पनि आफ्नो रुचि, कला र सीपअनुसार गिलोमाटोबाट अनेक आकृतिहरू बनाएका थिए । प्रशिक्षणको अन्तिम दिन मूर्तिकार अशोकले दृष्टिविहीन विद्यार्थीलाई लक्षित गरेर आँखामा पट्टी बाँधेर नेपालका प्रथम शहीद लखन थापाको मूर्ति तयार गरेर देखाएका थिए ।
करिब अढाई दशकदेखि रङ्गमञ्च, चित्रकारितासँगै मूर्तिकलामा होमिएका कलाकार तिम्सिनाले आँखामा पट्टी बाँधेर मूर्ति बनाउँदा धेरै सहभागीहरूले आश्चर्यचकित बनेर हेरेका थिए । तिम्सिनाले भने, ‘दृष्टिविहीनहरूसँग पनि मूर्तिकलाको सीप र क्षमता हुन्छ तर प्रेरणा नपाउँदा मूर्तिकार बन्नबाट बञ्चित हुन्छन् । मैले उनीहरूलाई प्रेरित गर्न आँखामा पट्टी बाँधेर मूर्ति बनाउने कला सिकाएको मात्र हो ।’
मूर्तिकला प्रशिक्षणका संयोजक गोपाल देवानले नयाँ पुस्ताका किशोर किशोरीहरूमा रहेको कलात्मक सिर्जनशीलतालाई तिखार्न यस्ता कार्यक्रम गरिएको बताए । यसअघि कलाकार विक्रमश्रिले प्रशिक्षणको उद्घाटन गरेका थिए । उनले मूर्तिकला मानव सभ्यता, इतिहास, संस्कृति र पहिचानसँग जोडिएको बताए । उनले भने, ‘मूर्तिकला यस्तो कला हो मानिसलाई केही कुरा भन्नका लागि भाषा चाहिन्छ, लेख्नका लागि लिपि । तर मूर्ति आफै बोल्छ । मूर्तिलाई बोल्न भाषा र लिपि चाहिन्न । यस्तो कलाप्रति किशोर किशोरी र दृष्टिविहीनहरूमा आकर्षण जगाउनु मेरो पनि दायित्व हो ।’