सिरहा/ सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नम्बर ६ स्थित रहेको सरकारी विद्यालयका विद्यार्थीले अहिलेसम्म छात्रवृत्ति रकम पाएका छैनन् ।

मिर्चैया नगरपालिका–६ (मटियर्वा) मा रहेको श्री आधारभूत विद्यालयमा विद्यार्थीले जेठ महिनासम्म छात्रवृत्ति पाउन सकेका छैनन् । छात्रवृत्ति नपाएको विद्यार्थीले गुनासो गरेका छन् ।

गत वर्ष यस विद्यालयमा गरिब, दलित तथा जेहेन्दार विद्यार्थीका लागि ५ सय रुपैयाँका दरले छात्रवृत्ति रकम वितरण गरिएको प्रधानाध्यापक मनिकलाल यादवले बताए छन् ।

गत वर्ष ८५ जना विद्यार्थीलाई जम्मा ४२,५०० रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरेको प्रधानाध्यापक यादवले बताए । विद्यालयमा दलित बस्तीका १०० जना भन्दा बढी बालबालिका अध्यनरत रहेका छन् ।

स्थानीयका अनुसार ३ जना शिक्षकको दरबन्दी र १ जना राहत शिक्षक छन् । छात्रवृत्तिका लागि रकम अहिलेसम्म नगरपालिकाले नपठाएको प्रधानाध्यापक यादवले बताए । नगर प्रमुख श्रवणकुमार यादवले भने विद्यालयले विद्यार्थीको विवरण ढिला गरी आएकाले छात्रवृत्ति रकम पठाउन नसकेको बताए ।

उनले नगरले एकदुई दिनभित्रमा छात्रवृत्ति रकम उपलब्ध गराउने प्रतिबद्धता गरेका छन् । नगर प्रमुख यादवले भने, ‘एकदुई दिनपछि छात्रवृति रकम नगरपालिका बाट विद्यालयका खातामा पठाइदिन्छु ।’