धनकुटा/ धनकुटामा विगत ६ वर्षदेखि सञ्चालनमा रहेको निजामती आवसीय विद्यालयको पक्की भवन निर्माणको थालनी गरिएको छ । आइतबार नयाँ भवनको शिलान्यास गरियो ।
१५ करोडको लागत बन्न लागेको तीनतले पक्की भवनको प्रतिनिधिसभाका सांसद् राजेन्द्रकुमार राईले शिलान्यास गरे । २०६६ सालमा निजामती आवसीय विद्यालय धनकुटामा राख्ने भनी सामान्य प्रशासन मन्त्रालयले तात्कालीन क्षेत्रीय प्रशासक जनार्दन नेपालको पालामा सरकारले स्वीकृत गरे पनि ०७० साल भाद्रबाट मात्र विद्यालय सञ्चालनमा आएको थियो । निजामती कर्मचारीका छोराछोरीलाई सहुलियत दरमा पठन–पाठन गराउने उद्देश्यले स्थापना गरिएको हो ।
हाल विद्यालयमा कक्षा १० सम्म पठन–पाठन भइरहेको छ । विद्यालयमा करिब ३ सय विद्यार्थी अध्ययरत छन् । चालु आर्थिक वर्षमा भवन निर्माणका लागि ३ करोड रुपैयाँ निकासा भएको धनकुटा नगरपालिकाका इञ्जिनियर मिङ्मा दोर्जे शेर्पाले बताए । इञ्जिनियर शेर्पाका अनुसार ३ तले भवनको पहिलो र दोस्रो तलामा कक्षा सञ्चालन गर्नका लागि ठूला–ठूला ८–८ वटा कोठा हुनेछ भने सिरानको तलामा सेमिनार हल, स्टाफ रोम र प्रिन्सिपलको कार्यकक्षको लागि भवन निर्माण हुनेछ । उनले कार्यअवधि ३ वर्षको भए पनि आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी सङ्घीय सरकारले प्रदेश सरकारमा हस्तान्तरण गसिकेकाले सोही अनुरूपको कार्ययोजना तय भएको बताए ।
सांसद् राईले विद्यालयको पठन–पाठनप्रति अभिभावकहरू सन्तुष्ट नरहेको बताए । राईले विद्यार्थीहरूको पठन–पाठनमा सन्तोसजनक हुने गरी विद्यालयले वातावरण तयार पार्न विद्यालय प्रशासनलाई आग्रहसमेत गरे । विद्यालयलाई अघि बढाउनका लागि आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । त्यस्तै प्रदेश सांसद् इन्द्रमणि पराजुलीले निजामती आवसीय विद्यालय सङ्घीय सरकारले सञ्चालनका लागि प्रदेश सरकारलाई हस्तान्तरण गसिकेकाले अबको १ वर्षभित्र भवन निर्माण गरिसक्ने बताए ।
जनताको चाहाना पठन–पाठन राम्रो होस् भन्ने चाहाना छ, त्यसो भयो भने १ नम्बर प्रदेशकै शैक्षिक केन्द्रको रूपमा विकास गरेर धनकुटालाई शिक्षाको हब बनाइने बताए । पराजुलीले निजामती आवसीय विद्यालयसँगै विशेषज्ञ सेवासहितको अस्पताल र मेडिकल कलेजको पनि योवर्ष प्रदेश सरकारको बजेटमा धनकुटाकै लागि सम्बोधन हुने बताएका छन् । जसका लागि २ सय रोपनी जग्गाको सम्भव्यता अध्ययन भइसकेको पराजुलीले बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सीताराम कार्की, जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख मोहन राई, धनकुटा नगरपालिका शिक्षा शाखा प्रमुख रामबहादुर थापालगायतले विद्यालयमा पठन–पाठनको वातावरण राम्रो हुनुपर्नेमा जोड दिँदै विद्यालयको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे । कार्यक्रमको सञ्चालन विद्यालयका प्रिन्सिपल सुरेश काफ्लेले गरेका थिए ।