विराटनगर/ मोरङको सुनवर्षी नगरपालिका–९ डायनियास्थित मस्जिदको कम्पाउण्डमा रहेको निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्रको फर्मा झिक्ने क्रममा चारजना कामदारको निसास्सिएर मृत्यु भएको छ ।

निर्माणाधीन करिब १२ फिट गहिराइको सेफ्टी ट्याङ्कीभित्र रहेको फर्मा झिक्न गएका कामदारहरूको शनिबार निसास्सिएर मृत्यु भएको हो ।

मोरङ सुनवर्षी नगरपालिका–९ का २० वर्षीय मोहम्मद फिरोज आलम, सोही स्थानका २५ वर्षीय सहनवाद, ४५ वर्षीय कपिल आलम, २२ वर्षीय मोहम्मद ओसिब आलमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरूसँगै अचेत भएका स्थानीय ४० वर्षीय दाउद मियाँ उपचारपछि घर फर्केको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

उनीहरू पाँचैजना निर्माणाधीन सेफ्टी ट्याङ्कीको फर्मा खोल्ने क्रममा निसास्सिएर अचेत भएका थिए । उपचारको लागि विराटनगरस्थित गोल्डेन अस्पताल पु¥याउँदा चारजनालाई चिकित्सकले मृत घोषणा गरेको डिएसपी श्रेष्ठले बताए । उनीहरूमध्ये सेफ्टी ट्याङ्कीभित्र शुरुमा ओसिब पसेका थिए, उनलाई बचाउन फिरोज पसे भने फिरोजलाई बचाउन सहनवाज र अन्तिममा कपिल पसेका थिए ।

कपिल बाबु र फिरोज छोरा हुन् भने अन्य उनीहरूका छिमेकी हुन् । एक–अर्कालाई बचाउन खोज्दा चारजनाको निसास्सिएर मृत्यु भएको प्रहरीले जनाएको छ । पाँचजना पसेपछि अन्य थप पनि पस्न खोज्र्दै गर्दा स्थानीयले पस्न दिएका थिएनन् । थप उपचारपछि दाउद मियाँ भने बच्न सफल छन् । उनीहरू सेफ्टी ट्याङ्कीमा अचेत भएको खबर पाएपछि तत्काल प्रहरी चौकी डायनिया र इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएको प्रहरी टोलीेको सहयोगमा उद्धार गरी रङ्गेली अस्पतालमा उपचारका लागि ल्याएका थिए ।

तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा ४ जनाको मृत्यु भएको र दाउद बाँच्न सफल भएको डिएसपी श्रेष्ठले बताए । मृतक चारजनाको पोष्टमार्टम आज (आइतबार) विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा हुने प्रहरीले जनाएको छ ।