धनकुटा/ धनकुटा नगरपालिका–४ स्कुलडाँडाको आरम्भ माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडले बुबाले नतिरेको ऋणको सट्टा छोराको कब्जा गरिएको नेपाली नागरिकताको प्रमाण–पत्र बुधबार फिर्ता गरेको छ ।

धनकुटा नगरपालिका–६ मा गठित खाल्डे आरम्भ महिला केन्द्रका सदस्य मीना राई र उनका श्रीमान् हाङबहादुर राई ऋण नतिरी बेपत्ता भएपछि फाइनान्सले उनका छोरा मौसम राईको नेपाली नागरिकता १ वर्षअघि कब्जा गरेको थियो । नागरिकता कब्जाका विषयमा सञ्चार माध्यममा समाचार आएपछि बुधबार फाइनान्सले मौसमलाई कार्यालयमा बोलाएर नागरिकताको प्रमाण–पत्र फिर्ता दिएको हो ।

नागरिकतासँगै मौसमको घरबाट आरम्भ माइक्रो फाइनान्स धनकुटा–४ ले १९ हजार ५ सय मूल्यको रङ्गीन टेलिभिजन, २ हजार ५ सयको डेक र १ हजार ५ सय मूल्य बराबरको बुफरलगायतको सामग्रीहरू पनि उठाएर लगेको थियो । ती सामग्रीहरू भने फाइनान्सले फिर्ता गरेको छैन । बुबा–आमाले लिएको ऋण तिर्ने तर आफ्नो घरबाट उठाएको सामान जस्ताको त्यस्तै फिर्ता पाउनु पर्ने मौसमले माग गरेका छन् ।

ती सामान ऋण असुली गर्नको लागि समूहमार्फत् उठाएर ल्याएको फाइनान्सका मेनेजर दीपक श्रेष्ठले यसअघि नै स्वीकारेका छन् । उनले राईको घरबाट उठाएर ल्याएका सामान खाल्डे आरम्भ महिला केन्द्रका प्रमुख कमला देवी भट्टराईको घरमा राखिएको र समूहको बैठक डाकेर ती सामग्रीको विषयमा जानकारी गराउने बताए ।

समूहका सदस्य मौसमका बुबा हाङबहादुर राई र आमा मीरा राईले माइक्रो फाइनान्सबाट २०७३ कात्तिक २४ गते ७५ हजार रुपैयाँ ऋण लिएका थिए । ऋणको ०७६ जेठ १८ गतेसम्मको ब्याज ६ हजार २ सय १९ रुपैयाँ र साँवा ३७ हजार ७ सय ५० रुपैयाँ बाँकी रहेको दाबी फाइनान्सको छ । मौसम भने किस्ता पटक–पटक बुझाए पनि साँवा नघटाइएको गुनासो गर्छन् । उनको नागरिकता स्थानीय सञ्चारकर्मीहरूको रोहवरमा फिर्ता गरिएको थियो ।