धरान/पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयमा प्लस टुमा अध्ययनरत विद्यार्थीहरूले तालाबन्दी गरेका छन् ।

स्कुलमै बस्न पाउनुपर्ने मागलाई बेवास्ता गरेको भन्दै कक्षा ११ र १२ मा अध्ययरत विद्यार्थीहरूले प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । मङ्गलबार विद्यालय व्यवस्थापन समिति (विव्यास), शिक्षक तथा अभिभावक सङ्घ, धरान नगरपालिका शिक्षा महाशाखा, १५ नम्बर वडाका जनप्रतिनिधिबीच मङ्गलबार बसेको छलफलले कक्षा ११ र १२ का विद्यार्थीलाई स्कुलमा राख्न नसक्ने निर्णय गरेपछि विद्यार्थीहरू तालाबन्दीमा उत्रिएका हुन् । तालाबन्दी भएको बारे प्रअ प्रमोद भण्डारीले पुष्टि गरे ।

साउन १८ गते पनि विद्यालय व्यवस्थापन समितिले  कक्षा ११ र १२ का विद्यार्थी राख्न नसक्ने निर्णय गरेको थियो । उक्त निर्णयमा असहमति जनाउँदै साउन २६ गते प्रअको कार्याकक्षमा तालाबन्दी गरेका थिए । साउन २८ गते छलफल गरिने भनी जानकारी गराएपछि ताला खोलेका भए पनि फेरि उही निर्णय भएपछि तालाबन्दी गरेको प्रअ भण्डारीले बताए । तर, मङ्गलबारको छलफलले पनि विद्यार्थीहरूलाई राख्न नसक्ने निर्णय गरेपछि फेरि तालाबन्दीमा उत्रिएको उनले बताए ।

कक्षा ११ मा ४ जना विद्यार्थी छन् भने कक्षा १२ मा ५ जना विद्यार्थीहरू रहेका छन् । उनीहरूलाई कक्षा १० का विद्यार्थीहरूले पनि सहयोग गरिरहेको प्रअ भण्डारीले जानकारी दिए । यसअघि कक्षा ११ र १२ का विद्यार्थीहरूलाई पनि प्रायोजकमार्फत् सहयोग आउने गरेको हुँदा विद्यालयमा राखिँदै आएको थियो । तर, अहिले सहयोग आउन छाडेपछि विद्यार्थी राख्न नसकिने निचोडमा विव्यास पुगेको हो । विव्यासकी अध्यक्ष लक्खी गुरूङले प्रायोजकमार्फत् सहयोग आउन छाडेकाले पनि अब विद्यार्थी राख्न नसकिने निचोडमा पुगेको बताइन् ।

सोही अनुरूप नै विव्यास तथा शिक्षक तथा अभिभावक सङ्घको साउन १८ गते राख्न नसकिने निर्णय गरिएको बताइन् । ‘अनुदान रकम तथा अनुशासनलगायत विभिन्न कुरा आउँछ भनेर नै नराख्ने निचोडमा पुगिएको हो’–उनले भनिन् ।

धरान–१५ का वडाध्यक्ष नरेश इवारामले छलफलमा सरकारको नीतिनियम अनुसार चल्नु पर्ने भएकाले कक्षा ११ र १२ का विद्यार्थीलाई राख्न नसकिने निर्णय भएको बताए ।