धरान / सल्लेरी ऋण तथा बचत सहकारी संस्थामा वचतकर्ताहरुको करोडौं रकम हिनामिना गरेको अभियोगमा पक्राउ परेका संस्थाका अध्यक्ष कृष्ण बिकसहित ३ जनालाई जेल चलान गरिएको छ । जिल्ला अदालत सुनसरीको आदेश अनुसार अध्यक्ष बिक, व्यवस्थापक रहेका उनका छोरा मोहन दर्नाल र लेखापाल कमलादेवि बिकलाई जेल चलान गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

जिल्ला न्यायाधिश धर्मराज पौडेलले हिजो मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ अनुसार अध्यक्ष बिकलाई पुर्पक्षमा राखेर अनुसन्धान गर्न आदेश दिएका हुन । मोहन र कमलादेविलाई २/२ लाख धरौटी वा त्यो बराबर जमानत राख्न आदेश दिएको थियो । मोहन र कृष्णकुमारीले पनि धरौटी बुझाउन नसकेपछि पुर्पक्षको लागि जेल गएका हुन् । कृष्ण र माेहनलाइ क्षेत्रिय कारागार झुम्कामा राखिएकाे छ । कमलादेविलाइ महिला कारागार माेरङमा राखिएकाे छ ।

जेलमै सुरक्षित हुने भए पछि धरौटी बुझाएनन
कृष्णका छोरा मोहन र साली कमलादेविलाई अदालतले धरौटीमा छाडे पनि उनीहरु धरौटी बुझाएनन । हिरासतबाट निस्कदा ८५ जना बचतकर्ताले तागेता गर्ने डरले उनीहरु सुरक्षित रहन धरौटी नबुझाएको बताइएको छ । उनीहरुको विषयमा अध्यक्ष कृष्णले सबै आफुले गरेको उनीहरुको कुनै दोष नभएको अदालत समक्ष बयान दिए पनि उनीहरुलाई धरौटीमा अदालतले छाड्ने आदेश दिएको थियो ।

सल्लेरीका अध्यक्ष बिकले वचतकर्ताहरुको ६ करोड भन्दा बढि बढी रकम हिनामिना गरेको ८५ जना बचतकर्ताहरुले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका थिए । सुनचादी पसल पनि सञ्चालन गरेको र सहकारीको रकम झिकेर त्यहाँ लगानी गरेको अनुसन्धानबाट खुलेको थियो । आफ्नै छोरालाई प्रबन्धक र सालीलाई लेखापाल राखेर सहकारीको रकम आफुखुशी गरेको पाइएको थियो । अध्यक्ष बिक असार २३ गतेदेखि संस्थामा सम्पर्कविहिन भएर फरार भएका थिए । उनलाई एक महिना पछि बुटवलबाट पक्राउ गरिएको थियो ।

कृष्ण पुर्पक्षमा थुनामा गएः बचतकर्ताको रकम के हुन्छ ?

bachatkarta
कृष्ण विकलाई हिजो अदालतले पुर्पक्षका लागि क्षेत्रीय कारागार झुम्का चलान गरेको छ । मुद्वाको फैसला भएको छैन् । ८५ जना बचतकर्ताहरुले ६ करोड ३ लाख २० हजार ६ सय ६५ रुपैया माग दावीसहित प्रहरीमा उजुरी दिएका छन् । कृष्ण जेल त प¥यो तर पीडितहरुको रकम अव के हुने भन्ने उनीहरुलाई चिन्ता भएको छ । डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार अदालतले फैसला गर्दा माग दावी अुनसार क्षतिपूर्ति भराउने गरि फैसाल हुदा पीडितहरुले माग दावी गरेको रकम पाउने बताउछन् । प्रहरीले ८ करोड २५ लाख ठगी गरेको माग दावीसहित अदालतमा पेस गरेको डिएसपी न्यौंपानेले जानकारी दिए ।
अदालतले फैसाला गर्दा बचतकर्ताहरुले माग दावी गरेको प्रमाण पुग्यो भने कृष्णले जरिमाना तिर्नु पर्ने हुन्छ । तर अभियुक्तले तिर्न जायजेथा छैन भन्यो भने जेलसजाय थप हुने अधिबक्ता पदम लिम्बु बताउछन् । ‘बचत गरेको हो भन्ने प्रमाण पुगे अदालतले जरिमानबाट असुल उपर गराउन फैसला हुन्छ । तर 'तिर्न सक्ने हैसियत छैन' भनेको खण्डमा थप जेल सजाय हुने कानुनी व्यवस्था छ ।'- अधिबक्ता लिम्बुले भने ।

कृष्ण विककाे  नियत

कृष्ण विकले राजनीतिक दलका नेतासँगको साँठगाठमा नियतबस बचतकर्ताको हिनामिना गरेको देखिएको छ । असार २३ गते उनी बेपत्ता भएका थिए । असार पहिलो साता बचत गरेको पैसा निकाल्न खोज्दा बचतकर्ताहरुलाई केही दिन पर्खन लगाएका थिए । असार २३ गते बेपत्ता भएको भन्दैं उनका छोरा मोहनले असार २४ गते खोजी गरिपाउ भनेर प्रहरीलाई जाहेरी दिएका थिए । कृष्ण विकको नाममा धरान–१५ स्थित रहेको घरसमेत असार २७ मा सुनसरी क्षेत्र नं. १ का नेपाली काङ्ग्रेसका प्रतिनीधि सभासदस्य मीन विशवकर्माकी सालीको नामा नामसारी भएको पाइएको थियो । विकको नाममा भएको अन्य सम्पति पनि अन्यत्र नामसारी गरिएको बुझिएको छ । बचतकर्ताको ६ करोड हिनामिनामा अध्यक्ष, प्रबन्धक मोहन विक र लेखापाल कमलादेवि विक मिलेमतो छ । तर अदालतमा अध्यक्ष कृष्ण विकले सबै काम आफुले मात्र गरेको उनीहरुको कुनै संलग्नता छैन् भनेर बयान दिएर उनीहरुलाई बचाउ गरेका छन् । उनको यो चलाखीले यो ठगी धन्दा अगाडी नै योजना बनाएर गरिएको देखिन्छ ।

माग्नेहरुको पनि पैसा डुब्यो

bhid
मोरङ सुनबर्षी नपाका विद्यानन्द चौधरी र विनोद यादवले मागेर बचत गरेको पैसासमेत डुवेको छ । उनीहरुले घरघरमा डुलेर मागेर कमाएको पैसा सहकारीमा ४३ हजार ५ सय राखेका थिए । उनीहरु दुवै जना शारिरिक रुपमा असक्त छन् । यस्ता असक्तहरुको समेत बचतको पैसा डुबेको छ ।