पथरी/ वन क्षेत्र अतिक्रमण गरी निर्माणाधीन अवस्थामा रहेको पक्की घर निर्माणमा वन डिभिजन कार्यालय मोरङले रोक लगाएको छ ।

मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित कानेपोखरी चोकमा वन क्षेत्र अतिक्रमण गरी निर्माणाधीन घर वन डिभिजन कार्यालयका अधिकृत विशाल घिमिरेको निर्देशनमा रोक लगाइएको हो । गत बिहीबार ‘वन कर्मचारीकै मिलेमतोमा कानेपोखरीको वन क्षेत्र अतिक्रमण’ शीर्षकमा ब्लाष्ट दैनिकमा समाचार छापिएपछि भोलिपल्टै वन अधिकृत घिमिरेले सव–डिभिजन कार्यालय कानेपोखरीका प्रमुख तुलसीदास यादवलाई निर्माण कार्य रोक्न निर्देशन दिएका थिए ।

सो निर्माण कार्य रोक्न निर्देशन आएपछि प्रमुख यादवले निर्माण गरिएको पिल्लर भत्काउनुको साटो उल्टै अतिक्रमित क्षेत्र टिनको पाताले वरिपरि बारेर संरक्षण गरी राखेका छन् । निर्मित घर भन्दा माथिल्लो घर पनि निर्माण गरिसकेको छ । यस विषयमा बुझ्न खोज्दा प्रमुख यादवले प्रयोग गरेको मोबाइल नम्बर ९८४२२५९८५० मा फोन गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

उता जिल्ला वन डिभिजन कार्यालय मोरङका अधिकृत घिमिरेले वन अतिक्रमण गर्ने अधिकार कसैलाई नभएकोले त्यहाँ घर बन्न नदिने बताएका छन् । त्यसमा वन कर्मचारीको संलग्नता रहेछ भने उनीहरूलाई पनि कारबाही हुने बताए । जनजागृति सामुदायिक वन क्षेत्रले संरक्षण गर्र्दै आएको क्षेत्रमा अहिले घर निर्माण भइरहेको छ । जनजागृति सामुदायिक वनका अध्यक्ष पूर्ण अधिकारीले रङ्गेली–कानेपोखरी सडकको मुखको घर सडकले भत्किने र केही भागमात्र रहने भएकोले त्यहाँबाट विस्थापित केही व्यक्तिहरूलाई त्यहाँ राख्ने निर्णय सबैले गरेको बताए । घर बनाउन दिने निर्णयमा सव–डिभिजन कार्यालय बेलबारी र सव–डिभिजन वन कार्यालय कानेपोखरीका तुलसीलाल यादव पनि सहभागी थिए ।

सो क्षेत्रमा चौतर्फी वन अतिक्रमण बढ्दै गएको छ । घर बन्दै गरेको स्थानमा बस्ती पछाडिबाट सडकले वनसँगको सिमाना लगाएको बाटो थियो भने कयौँ पटक बाटो सरेको स¥यै छ । पहिले घर बस्दा सानो स्थान ओगटेको थियो भने अहिले घर ठूलो क्षेत्रमा फैलिएर गएका छन् । पछिल्लो समयमा सिमानाको बाटोसँगै बाटोको केही भाग मिचेर सामुदायिक वन र सव–डिभिजन वन कार्यालय मिलेर पिल्लरको सिमाना लगाइदिएको छ ।

यस्ता पिल्लरको सिमाना यस पटक मात्र होइन, पहिलेदेखि नै पटक–पटक सारिँदै आएको छ । पिल्लर सारेर वन अतिक्रमण गर्ने बानी बसिसकेकोले अहिले वनले जाम गरेको पिल्लर सारेमा वन ऐनअनुसार कारबाही गर्ने नियम राखेको वन अध्यक्ष अधिकारीले बताए । पूर्व–पश्चिम राजमार्गको कानेपोखरी चोक दक्षिणपश्चिममा जनजागृति वन, पूर्वमा ग्रामीण सुधार सामुदायिक वन क्षेत्र र उत्तरमा राष्ट्रिय वन रहेको छ । चोकको बस्तीले तीनैवटा वनको क्षेत्रलाई छोएको छ ।