धरान/ धरान–५ खैरेनीका ३४ वर्षीय दीपेश र २० वर्षीया सपनाको परिवारमा आएको खुशी नानीको आँखाको ज्योति गुमेपछि हराएको छ ।

एक वर्षअघि पुसमा विवाह गरेका दीपेश र सपनाको सात महिनामै गत साउनमा जुम्ल्याहा छोरी जन्मेका थिए । एउटा छोरीको ५ दिनमा मृत्यु भयो भने अर्कीलाई ५८ दिन इनआइसियुमा राखेर बचाएका थिए । काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेज जोरपाटीको अस्पतालमा ५८ दिन राखेर घर ल्याए पनि एनआइसियुको लाइटले आँखाको ज्योति गुमेको तिलगङ्गा आँखा अस्पतालले जनाएपछि दीपेशको परिवार समस्यामा परेको छ ।

न्यून आय भएका दीपेशले ३ लाख ८१ हजार रुपैयाँ ५८ दिन उपचार गर्दा बुझाए । ऋण काढेर छोरी त बचाए तर आँखा नदेख्ने भएपछि उनी विरक्तिएका छन् । तिलगङ्गाले नानीको आँखाको ज्योति ५ प्रतिशत मात्र बाँकी रहेको र चाँडै भारतको चेन्नाइस्थित आँखा अस्पतालमा लगे ज्योति फर्कन सक्ने बताएको दीपेशले बताए ।

उक्त अस्पतालमा उपचार गर्न २ लाख ५० हजार लाग्ने बताएको तर आफूसँग पैसा नभएकाले छोरीको आँखाको ज्योति बचाउन सहयोग गर्न उनले सबैसँग याचना गरेका छन् । उनी छोरीको उपचारको लागि पैसा जोहो गर्न काठमाडौं पुगेका छन् । ‘परिवारमा नातिनी पाएका थियौं, त्यो पनि काठमाडौंको अस्पतालले आँखाको ज्योति गुमाइदियो’ दीपेशकी आमा हरिमाया रम्तेलले भनिन्, ‘हामी गरिबले अब कसरी थप उपचार गर्ने । कसैले सहयोग गरे नातिनीले संसार हेर्न पाउने थिइन् ।’

खैरेनीमा भवनाथ गिरीको घरमा भाडामा बस्दै आएका दीपेश काठमाडौंमा डुलाएर मौसमी व्यापार गर्छन् । उनका बाबुले डोको बुनेर पेट पाल्दै आएका छन् । दीपेशले एनआइसी एशियाको दीपेश नेपाली सार्कीको नाममा रहेको खाता नं. O-८८७०११३२३१५२४0१ मा सहयोग गर्न सबैसँग आग्रह गरेका छन् ।