झुम्का/ सुनसरीको झुम्का क्षेत्रमा करोड लगानीमा निर्माण भएको पशु बधशाला लथालिङ्ग अवस्थामा छ । व्यवस्थित रूपमा मासु पसल सञ्चालनमा नआउँदा फोहोरको बीचमा बिक्री भइरहेको मासु खानुको विकल्प स्थानीयसँग छैन । मासुपसल व्यवस्थित गर्न पटक–पटक अनुरोध गरे पनि सुनुवाइ भएको छैन ।

मासु पसल व्यवस्थित गर्न रामधुनी नगरपालिकाले पहल नगर्दा करोड रुपैयाँ लगानीमा बनेको भवन फोहोरले दुर्गन्धित हुन पुगेको छ । लामो समयदेखि झुम्का क्षेत्रका मासु व्यावसायीहरू अस्वस्थ मासु खान बाध्य छन् । तर मासु व्यवसायी व्यवस्थित गर्ने भन्दै एक वर्षअगाडि सञ्चालनमा आएको पशु बधशाला अहिले बन्द हुने अवस्थामा पुगेको छ ।

लाखांै रुपैयाँ पर्ने कुलिङ मेसिन र पानी तताउने मेसिनका उपकरणहरूले काम नगरेपछि थन्किएका छन् । कुल ८० लाखको लागतमा निर्माण सम्पन्न भएको झुम्का बधशालामा उपकरण कामै नलाग्ने अवस्थामा छन् । लामो समयदेखि खसी काट्ने व्यवसाय गर्दै आएका झुम्काका अस्लम खानले बधशाला नामै मात्रको भएको बताए । आफूहरूलाई मासु काट्न समस्या भएको भन्दै बधशाला लथालिङ्ग अवस्थामा रहेको उनको भनाइ छ ।

स्थानीयवासी देवानन्द श्रेष्ठले नगरपालिकाले बेवास्ता गर्दा बधशालाको बेहाल भएको तर्क गरे । नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले बेवास्ता गर्दा बधशालाको बेहाल भएको भन्दै श्रेष्ठले चिन्ता व्यक्त गरे । नगरपालिका क्षेत्रका मासु पसल पनि व्यवस्थित छैनन् । राजमार्ग क्षेत्रका मासु पसलहरूमा धुलो धेरै हुने गरेको स्थानीयबासीले बताए । सर्वसाधारणले स्वच्छ मासु खान नपाएको गुनासोसमेत गर्दै आएका छन् ।

मासु पसललाई व्यवस्थित गर्न सुरक्षित बधशाला नहुँदा पनि समस्या भएको हो । झुम्काका मासु व्यापारी साबित खानले फोहोर र दुर्गन्धले बधशाला क्षेत्रमा बसिनसक्नु भएको बताए । बधशाला क्षेत्र दुर्गन्धित हुँदा आसपासमा बस्न सक्ने अवस्थासमेत नभएको र यसमा नगरपालिकाको चरम लापरबाही भएको खान बताउँछन् ।

खसीको मासुका लागि प्रख्यात सुनसरीको झुम्का बजारमा सुविधा सम्पन्न व्यवस्थित बधशाला भवन निर्माण हुँदा खुशी भएका मासु व्यापारीहरू अहिले निराश भएको बताउँछन् । अर्का मासु व्यापारी सेठी चौधरीले भएका सबै मेसिनहरू बिग्रिएको बताए । बधशालामा पानीसमेत नभएको भन्दै उनले आपत्ति जनाए । अहिले झुम्का क्षेत्रमा अव्यवस्थित मासु पसलहरू बगे्रल्ती खोलिएका छन् ।

रामधुनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार न्यौपानेले पनि बधशाला अव्यवस्थित भएको स्वीकारे । अहिले बधशाला दुर्गन्धित भएको भन्दै व्यवस्थित गर्ने सम्बन्धमा नगर कार्यपालिका बैठकमा समेत कुरा उठेको बताए । ‘बधशालालाई कसरी व्यवस्थित बनाउने भन्ने विषयमा हामी लागेका छौं’ –उनले भने । उपभोक्ताहरूको चापलाई मध्यनजर गर्दै व्यवस्थित मासु पसल सञ्चालनमा ल्याउने उद्देश्यले पशुपन्छी बजार प्रबन्ध निर्देशनालय रामधुनीभासी नगरपालिका र वल्र्डभिजन नेपालको साझेदारीमा भवन बनेको थियो ।

झुम्कामा ताजा र स्वच्छ मासु पाइने उपभोक्ताले विश्वास गर्दै आएका छन् तर सडक किनाराको नालानजिकै रहेका मासु पसलहरूमा फोहोर हुने गरेको छ । बधशालामा पशुको बध गर्नुअघि बेहोस बनाउने मेसिन, ब्वाइल गर्ने मेसिन तथा मासु भण्डारण गर्ने उपकरणलगायत मासु स्वस्थ राख्न प्रयोग गरिने सबै प्रकारका उपकरण जडान गरिएको थियो ।